डा. केसीको चेतावनीः बीएण्डसी मेडिकल कलेजलाई अवैध सम्बन्धन दिइए नेपाल फर्केलगत्तै सत्याग्रह
प्रकाशित मिति
२०७८ जेष्ठ २७ गते, बिहीबार ०३:५४
फाइल तस्बिर
काठमाडौँ : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी मेडिकल कलेजलाई अवैध रुपमा जबर्जस्ती सम्बन्धन दिइएको खण्डमा आफू नेपाल फर्केलगत्तै सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।
हाल यमनमा रहेका डा. केसीले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर उक्त अवैध निर्णय प्रक्रियामा संलग्न नहुन चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई अपिलसमेत गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित संस्थाको स्वार्थपूर्तिका लागि राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुरुपयोग गर्ने काम गरिरहेको डा. केसीको आरोप छ।
त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले यसअघि नै पाँचभन्दा बढी मेडिकल कलेजहरुलाई सम्बन्धन दिइसकेका कारण चिकित्सा शिक्षा ऐन अनुसार थप मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने पनि डा। केसीले बताएका छन्।
ऐन अनुसार २०८० सम्म सरकारी प्रतिष्ठान वा मेडिकल कलेज नपुगेका सबै प्रदेशका कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्नेमा ओलीले त्यसलाई रोकेको डा. केसीको भनाइ छ।
डा. केसीले भनेका छन्, ‘चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार विसं। २०८० फागुनसम्म हाल सरकारी प्रतिष्ठान वा मेडिकल कलेज नपुगेका सबै प्रदेशका कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुग्नैपर्छ। तर प्रधानमन्त्री ओलीले आफूनिकट माफिया हरुको इशारामा त्यस्तो काम अघि बढेका प्रतिष्ठानहरुको कामसमेत रोकेर राखेका छन्। हामीसित मेडिकल कलेज खोल्ने भनेर सम्झौता भएका कति ठाउँमा कामै सुरु हुन दिएका छैनन्।’
हाल द्वन्द्वग्रस्त मुलुक यमनमा स्वयंसेवा गरिरहेका डा. केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई दवाव दिएर बीएण्डसी मेडिकल कलेजलाई जबरजस्ती सम्बन्धन दिलाइए नेपाल फर्कर सत्याग्रह थाल्ने बताएका छन्।
‘हाल म द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरुमा सेवा दिएर नेपाल फर्कने क्रममा छु। चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडान विपरीत जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु,’ डा. केसीले भनेका छन्






प्रतिकृया