बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
प्रकाशित मिति
२०७७ फाल्गुन ७ गते, शुक्रबार ०१:२५
ललितपुर: १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महांकाल गाउँपालिका ४ कालेश्वर खन्तिडाँडा स्थित नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गरी बस्ने पर्सा पोखरिया नगरपालिका ८ घर भएका २१ वर्षीय राजकुमार ठाकुरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
ती बालिकालाई विद्यालय पछाडिको जंगलमा बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोम र प्रहरी चौकी कालेश्वरबाट खटिएको प्रहरीले राजकुमारलाई पक्राउ गरेको हो।
नियन्त्रित लागूऔषध सहित पक्राउ
मोरङ, विराटनगर महानगरपालिका १६ दक्षिण गेटबाट बेलबारी नगरपालिका ११ बस्ने ४३ वर्षीय प्रकाश बस्नेतलाई नियन्त्रित लागूऔषध १४ एम्पुल लुपिजेसिक, १४ एम्पुल डाईजापाम, १४ एम्पुल एभिल र १४ एम्पुल फेनारगन सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जंगली जनावर निल गाई मारेको अभियोगमा पक्राउ
बाँके, डुडुवा गाउँपालिका २ बाट जंगली जनावर निल गाई मारेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरू ३० वर्षीय बहुर बेहना र २६ वर्षीय साहिद खाँ रहेका छन्।
जंगली जनावर निल गाई मारी मासु घरमा ल्याएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले निल गाईको मासु सहित उनीहरुलाई पक्राउ गरेको हो।
नगद लुटपाट
सुनसरी, बर्जु गाउँपालिका १ ईनर्वा टोल बस्ने ४८ वर्षीय सुवाश चौधरीको घरबाट बुधबार राति नगद ५३ हजार रुपैयाँ लुटपाट भएको छ।
४ जना अपरिचित ब्यक्तिहरू आई घरको माथिल्लो तलामा रहेको सुवाशको कोठामा पसेर हल्ला गरेमा मारिदिने धम्की दिँदै कुटपिट समेत गरी उक्त नगद लुटी फरार भएको बताइएको छ। घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहवी र प्रहरी चौकी राबे शुक्रबारेबाट खटिएको प्रहरीले सुवाशको घरबाट ठूलो चाईनिज पेस्तोलको जस्तो देखिने १ राउण्ड गोली फेला पारेको छ।
धनमाल चोरी
काठमाडौं, तारकेश्वर नगरपालिका ७ जरङ्खुस्थित भुपु सैनिकटोल घर भएका नानिकाजी बोहराको घरबाट बुधबार राति कोही नभएको अवस्थामा नगद १ लाख ५० हजार रुपैयाँ र सुनका गहना समेत गरी करिब ५ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सवारी दुर्घटनामा परी मृत्यु
रुपन्देही, तिलोत्तमा नगरपालिका ११ कुमारीस्थित सडकबाट लु.१ क ८२४ नम्बरको शान्ती नमूना माध्यामिक विद्यालयको बसले बिहीबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री ३४ वर्षीया सुमन खौसियाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएकी सोही ठाउँ मृगौली बस्ने ३३ वर्षीया आरती थापाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृत अवस्थामा फेला
काठमाडौं, ललितपुर, महालक्ष्मी नगरपालिका १० लाकुरी भञ्ज्याङ्स्थित पिकनिक स्पोटमा गोदावरी नगरपालिका २ त्रिवेणी बस्ने ४० वर्षीय राजु तामाङ बिहीबार मृत अवस्थामा फेला परेका छन्।
कैलाली, धनगढी उपमहानगरपालिका १६ घसेटा बस्ने ६८ वर्षीय रामफल चौधरी सोही ठाउँस्थित सडक छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
आगजनीबाट धनमाल जलेर नष्ट
सुर्खेत, पंचपुरी नगरपालिका ८ दलालथाई बस्ने २४ वर्षीय भुवान बिकले बुधबार राति आफ्नै घरमा आगजनी गर्दा लत्ताकपडा र अन्नपात समेत गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
भुवानले बुवा भिम बहादुर बिकसँग झगडा गरी घरमा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
हाल फरार रहेका भुवनको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।







प्रतिकृया