• १० असोज २०८३, शनिबार
  • ४ः३६ बिहान

खानेपानी र सरसफाइ क्षेत्रमा निजी लगानीको व्यवस्था गर्न माग

प्रकाशित मिति

२०७७ आश्विन ७ गते, बुधबार ०९:२४

काठमाडौँ, नेपालमा हालसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकलाई मात्र पुगेकाले सेवा विस्तार गर्न निजी लगानी आकर्षित गर्नुपर्ने विज्ञहरुको माग छ । नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने व्यवस्था छ । यो व्यवस्था संविधान जारी भएको पाँच वर्ष पूरा हुँदा पनि सेवा दिनेतिर अघि बढेको छैन ।

National Life

असी प्रतिशत नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउन वैकल्पिक उपायको खोजी गर्दै निजी लगानी आकर्षित गरिनुपर्ने बैङ्कर तथा ग्लोबल एलायन्स अफ बैङ्किङ अन भ्यालु एशिया प्यासेफिकका क्षेत्रीय प्रतिनिधि उपेन्द्र पौड्यालले माग गर्नुभयो । सरकारले प्राथमिकता प्राप्त क्षेत्रमा खानेपानी तथा सरसफाइलाई राखे बैङ्कहरुको लगानी आउन सक्ने उहाँको भनाइ छ ।

सन् १९९० को दशकसम्म पनि नेपालका बैङ्कहरुले जलविद्युत्मा लगानी गर्न सकिन्छ र गर्नुपर्छ भन्ने सोच्न सकेका थिएनन तर सरकारले यसलाई प्राथमिकता प्राप्त क्षेत्रमा राखेपछि जलविद्युत् क्षेत्रमा बैङ्कको लगानी बढेको छ । लगानीबाट साँवा र ब्याज फिर्ता हुन्छ भन्ने प्रत्याभूति गर्न सकिने अवस्था भएमा बैङ्कले सहज ढङ्गले लगानी गर्छन् । शुरुमा यस्ता आयोजनामा व्यापारिक तथा व्यावसायिक साख भएका व्यक्ति आउनुपर्ने विज्ञहरुको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैङ्कहरुले पनि लगानीका विविध क्षेत्रको खोजी गरिरहेका छन् । पहिले कार्पेट र तयारी पोसाक ९गार्मेन्ट० मा लगानी गरेका बैङ्कहरुले जलविद्युत्, होटल, केबुलकार, कृषि र सिमेन्ट जस्ता क्षेत्रमा लगानी बढाउँदै लगेको देखिएको छ । बैङ्कहरुले खानेपानी आयोजनामा प्रत्यक्ष लगानी नगरे पनि निजी तथा सामूहिक आवास ९हाउजिङ० र होटलहरुका सोलार पम्पिङ र पम्पिङ कम्पोनेन्टमा लगानी गरिरहेका छन् ।

राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी नेपालको संविधान, १५ औँ आवधिक योजना र दिगो विकास लक्ष्य प्राप्तिसम्बन्धी कार्यक्रमले तय गरेका लक्ष्यहरु निर्धारित समयमा हासिल गरी सबै नेपालीलाई स्वच्छ खानेपानी र सरसफाइको सेवा उपलब्ध गराउने सरकारी प्रयासलाई सघाउने गरी वैकल्पिक कार्यक्रमको आवश्यकता रहेको बताउनुहुन्छ । साना आयोजनामा स्थानीय बैङ्कले लगानी गर्न सक्ने उहाँले बताउनुभयो ।

स्मार्ट पानीका निर्देशक सुमन शाक्यले सार्वजनिक क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन १४० वटा विद्यालयमा आफ्नै प्रयासमा कार्यक्रम थालिएको उदाहरण दिँदै खानेपानीको क्षेत्रमा नयाँ काम गर्ने र उद्यमशीलता विकास गर्नेलाई प्रोत्साहित गर्ने नीति माग गर्नुभयो । खानेपानी स्वच्छ पार्ने प्रविधिको व्यापक विस्तार गरी संविधानले प्रत्याभूत गरेअनुसार स्वच्छ पानी र सरसफाइको सेवा देशभर उपलब्ध गराउन सकिने विश्वास उहाँ व्यक्त गर्नुहुन्छ ।

एशिया वाटर काउन्सिलका संस्थापक डा विन्दुनाथ लोहनी एशियामा बैङ्कहरुले टेलिकम, ऊर्जा, यातायातका क्षेत्रमा सहज तरिकाले लगानी गरेको तर खानेपानीको क्षेत्रमा सहुलियतपूर्ण कर्जा, सार्वजनिक निजी साझेदारीमा आयोजना सञ्चालन भइरहेको उल्लेख गर्दै आयोजनालाई सम्भावनायुक्त बनाउन आर्थिक सहयोग हुनुपर्ने बताउनुहुन्छ ।
रासस

प्रतिकृया