• ५ असोज २०८३, सोमबार
  • ८ः१६ बिहान

ढुङ्गाले जोखिम बनाएको बस्तीको स्थानान्तरण थालियो

प्रकाशित मिति

२०७७ भाद्र १७ गते, बुधबार ०७:०३

त्रिशूली, दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको तीन बस्तीको बीचमा रहेको ढुङ्गाले जोखिम पुर्याएसँगै ढुङ्गा हटाउन मङ्गलबारदेखि बस्ती स्थानान्तरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा कार्यालयले उपलब्ध गराएपछि नेगीका २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण शुरु गरिएको वडाध्यक्ष सुनबहादुर तामाङले जानकारी दिनुभयो ।

National Life

उहाँका अनुसार नेगीका २८ परिवारलाई सोही वडाको सुरक्षित स्थानमा टेन्ट हालेर घरको सामान सार्न लगाइएको छ । “नेगी बस्तीका २८ परिवारलाई सूर्यकुण्ड जलविद्युत् आयोजनाको जग्गामा स्थानान्तरण गरिने लक्ष्य बनाइएको थियो”, उहाँले भन्नुभयो “टेन्ट ठूलो भएकाले स्थानको अभाव भएपछि बस्तीको दायाँबायाँ तीन स्थानमा सारिएको छ ।”

स्थानीयवासीले ‘पाल्साङ ऊ’ नाम दिएको उक्त ठूलो ढुङ्गा बग्न शुरु गरेकाले त्यसभन्दा ठिक तल पर्ने नेगीबासीलाई स्थानान्तरण शुरु गरिए पनि काउले र बोत्गाउँको १८ परिवारलाई भने ढुङ्गा हटाउन शुरु गरेपछि मात्र अन्यत्र लैजाने योजना बनाएको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बस्ती स्थानान्तरणसँगै शौचालय, खानेपानी, विद्युत्, आउजाउ गर्न बाटोलगायतको व्यवस्था मिलाउन थालिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पाँच वर्षअघि गएको विनाशकारी भूकम्पको समयमा हल्लिएर मानव बस्तीतिर बगेको ढुङ्गा अहिलेको निरन्तरको वर्षाले डगमगाएपछि त्यसलाई नेपाली सेनामार्फत विष्फोट गराएर जोखिममुक्त बनाउने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ढुङ्गाले आफ्नो स्थानबाट करिब चार फिट छाडेर बग्न थालेपछि बस्तीमा खसेमा २८ परिवारलाई क्षति पुर्याउने, तादी खोला थुनिन सक्ने तथा आसपासका स्थानमा समेत कम्पन दिएर पहिरोको जोखिम हुने भएकाले ढुङ्गालाई विष्फोट गरेर हटाउन लागिएको हो ।

ढुङ्गा फुटाउँदा घरमा क्षति पुगेमा सम्बन्धित घरधनीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत नयाँ आवास निर्माणका लागि लाभग्राही कायम गराई अनुदान सहयोग उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाइएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिनुभयो ।
रासस

प्रतिकृया