• ८ असोज २०८३, बिहीबार
  • ५ः०४ बेलुका

मनसुन थप सक्रिय, आज पनि भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०७७ असार १० गते, बुधबार ०८:२३

 

National Life

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले मनसुनको शक्तिशाली नयाँ प्रणाली विकास भएकाले लगातार झरी पर्ने सम्भावना रहेको जनाएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार हिजो सम्मको प्रणाली कमजोर हुँदै आज बिहानै नयाँ प्रणाली विकास भएको हो।

उनका अनुसार बंगालको खाडीबाट बढी मात्रामा जलवाष्पयुक्त हावा भित्रिन सुरु भएको हो। यो हावा देशको पूर्वी क्षेत्रबाट भित्रिरहेको छ। जसका कारण नेपालको पूर्वी भू-भागनजिकै मनसुनको न्यून चापीय रेखा बनेको छ। यसबारे महाशाखाले हिजै जानकारी दिएको थियो ।

महाशाखाका अनुसार पूर्वमा झापा, मोरङ, सुनसरी, धनकुटालगायत आसपास क्षेत्रमा बिहानैदेखि झरी परिरहेको छ ।

पश्चिममा कास्की, जुम्ला, हुम्ला कालिकोट, सुर्खेत पनि बिहानैदेखि वर्षा भइरहेको छ। कैलाली र कञ्चनपुरबाहेक सुदूरपश्चिम प्रदेशमा पनि बिहानैदेखि पानी परिरहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समभावना रहेको हुँदा ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया