भोलिदेखी जोर गतेमा जोर नम्बर र विजोर गतेमा विजोर नम्बर प्लेट भएको सवारी गुड्ने
प्रकाशित मिति
२०७७ जेष्ठ २९ गते, बिहीबार १०:१९
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी सवारी साधन सञ्चालनमा सरकारले लागू गरेको जोर-बिजोर प्रणालीको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
महाशाखाले विहीबार विज्ञप्ति जारी गर्दै सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार शुक्रबारदेखि जोर-बिजोर प्रणाली लागू हुने जनाएको हो । जोर बिजोर प्रणालीमा निजी सवारी साधन मात्र चलाउन पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।
उनले ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र २ पांग्रे सवारी साधन ( मोटरसाईकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र राखि सञ्चालन गर्न पाइने बताएका छन् ।
जोर बिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।
अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९ः०० बजेदेखि विहान ५ः०० बजेसम्म चलाउन भने रोक लागाइएको छ । तर कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन ।
यस अघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर बिजोर प्रणाली अनुसार मात्र चल्न पाउने महाशाखाले उल्लेख गरेको छ । अत्यावश्यक काम बाहेक जोर बिजोर प्रणालीलाई उल्लंघन गरेर सवारी साधन चलाएको पाइए विभिन्न चेकप्वाईन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गरिने महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए ।
उनले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने बताए ।
प्रतिकृया