सातै प्रदेशमा कोरोना परीक्षण
प्रकाशित मिति
२०७६ चैत्र २६ गते, बुधबार ०६:४७
काठमाडौं । सातवटै प्रदेशका कोरोना भाइरस (कोभिड १९)को प्रयोगशाला नियमित परीक्षण भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
साथै नेपालमा कोरोना भाइरसको आशङ्कामा विभिन्न अस्पतालमा एक सय जना व्यक्ति आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका छन्। उनका अनुसार एस सय व्यक्ति आइसोलेसनमा र नौ हजार २२८ जना क्वारेन्टाइनमा छन् ।
उपत्यकामा १६ र उपत्यका बाहिरका विभिन्न अस्पतालमा ८४ जना गरी कुल सय जना व्यक्ति आइसोलेसनमा रहेको जानकारी दिँदै उहाँले देशभर एक हजार ७७६ जना व्यक्तिको कोरोना परीक्षण गरिएको बताए।
उहाँले उपत्यका र उपत्यकाबाहिर गरी १० वटा प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भइरहेको भन्दै सातवटै प्रदेशका प्रयोगशालामा नियमित परीक्षण भइरहेको स्पष्ट पारे ।
प्रवक्ता देवकोटाले स्वास्थ्य मन्त्रालयले तयार पारेको मोबाइल एप्समा पछिल्लो २४ घण्टामा एक हजार ८५१ जनाले आफ्नो नाम दर्ता गराएको जानकारी दिए । उनका अनुसार तीमध्ये १७ जना व्यक्तिलाई रेड जोनमा राखिएको बताएका छन् । स्वास्थ्य एपमा हालसम्म ११ हजार २३९ जनाले नाम दर्ता गराएकोमा १७२ जना रेड जोनमा रहेको जानकारी दिएका छन् ।
देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म एक हजार ७९६ जनाको नमुना परीक्षण गरिएको पनि बताए । उनले यसअघि पोजेटिभ देखिएका आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । कञ्चनपुर र कैलालीमा तीव्र परीक्षण अर्थात् र्यापिड टेस्ट भइरहेको जानकारी दिए । अहिलेसम्म कञ्चनपुरमा २१ र कैलालीमा १८ नमुना सङ्कलन गरिएको जानकारी समेत दिएका छन् ।






प्रतिकृया