उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी
प्रकाशित मिति
२०७६ चैत्र २१ गते, शुक्रबार ०६:१०
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपचार स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भनदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवत्ता दिनेश त्रिपाठीले बिहीबार उजुरी दिएका हुन्। उपप्रधानमन्त्री पोखरेल कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत हुन्। उजुरीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र ठेक्का लिने ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिका सञ्चालकमाथि कारबाहीको माग गरेका छन्।
त्रिपाठीले पदमा रहँदा प्रमाण नष्ट गर्ने तत्काल हिरासतमा लिएर छानबिन गरि कारवाही प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।
संकटको बेला कयौं गुणा बढी मूल्यमा त्यो पनि गुणस्तरहिन उपचार सामग्री खरिद गर्नु अक्षम्य अपराध भएको उनले बताए।
उजुरीमा विश्व स्वास्थ्य संगठनले महिनौ पहिले नेपाल कोरोना महामारीको उच्च जोखिममा रहेको चेतावनी दिइसक्दा पनि नेपालले यस सम्बन्धमा आवश्यक पर्ने स्वास्थ्य उपकरणको आयात तर्फ कुनै चासो नदेखाउनुले पनि यो बदनियतलाई झन् पुष्टि प्रदान गरेको बताइएको छ ।






प्रतिकृया