खरिपाटी र तेलकोट क्वारेन्टाइनलाई निरन्तरता दिने सरकारको निर्णय
प्रकाशित मिति
२०७६ चैत्र ४ गते, मंगलवार ११:१४
भक्तपुर, सरकारले चाँगुनारायण नगरपालिकामा रहेको खरिपाटी र तेलकोट क्वारेन्टाइनलाई निरन्तरता दिने निर्णय गरेको छ । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणको लागि बनेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई पत्रचार गर्दै क्वारेण्टाईन प्रयोजनको निम्ती प्रयोग भएका खरीपाटीस्थित बिद्युत् प्राधिकरणको भवन र तेलकोटस्थित खानेपानी तालिम केन्द्रको भवनलाई यथायतस्थितिमा राख्ने निर्देशन दिएको छ ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेले दुबै भवनलाई निकट भबिष्यको संभाब्य प्रयोगलाई बिचार गरी तत्काल यथावत अबस्थामा कायम राख्न निर्देशन दिए बमोजिम पुनसुचारु अबस्थामा राख्न आवश्यक तयारी गरिएको बताउनुभयो ।
कोरोना संक्रमणको जोखिम न्युनिकरण पूर्वतयारीका लागि क्वारेन्टाइनलाई निरन्तरता दिन लागिएको सरकारको भनाई छ । खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २ सय २० र तेलकोटस्थित खानेपानी कार्यालयमा ६० वटा आइसोलेटेड बेड पुर्याउने सरकारको तैयारी छ ।
कोरोना संक्रमणको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी ल्याइएका १ सय ७५ जना नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रलाई क्वारेन्टाइन बनाइएको थियो ।
चीनबाट उद्धार गरिएका सबै नेपालीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाईएको थियो । विद्यार्थीलाई उद्दार गरि ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली लाई भने नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको थियो ।१५ औ दिनमा उनीहरुलाई घर फर्काइएको थियो ।






प्रतिकृया