• 5:41 pm

सरकार, आश्वासन त दियौ पुरस्कार कहिले दिने ?

प्रकाशित मिति

२०७६ फाल्गुन १६ गते, शुक्रबार ०७:३२

हौसला बढाउनुपर्नेमा हतोत्साहित गर्ने मात्र काम भयो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको साढे दुई महिना बित्यो। साग सकिनेबित्तिकै मंसिर २५ गते प्रधानमन्त्री केपी ओलीले खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर एक महिनाभित्र नगद पुरस्कार दिने घोषणा गरेका थिए । तर, खेलाडीले अझै पुरस्कार पाएका छैनन् ।

व्यक्तिगत स्पर्धाका स्वर्ण विजेतालाई पुरस्कार घोषणा गरे पनि टिम इभेन्टका विजेता खेलाडीको पुरस्कार घोषणा भने हुन सकेको थिएन। टिम इभेन्टका खेलाडी कति पुरस्कार पाइन्छ भन्ने अन्योलमा थिए। १३औं सागमा दोहोरो स्वर्ण विजेता कराँते खेलाडी मन्डेकाजी श्रेष्ठले सरकार आफैंले घोषणा गरेको पुरस्कार नदिँदा नरबमाइलो लागेको बताए। ‘हामीले देशको प्रतिष्ठाका लागि दिनरात नभनी मेहनत र्गयौं’, उनले भने, ‘सरकारले खेलाडीलाई आश्वासन मात्र दिएको छ।’ उनले हरेक दिनजसो अरू खेलाडीले पुरस्कारबारे सोध्ने गरेको पनि बताए। ‘सिनियर खेलाडी भएकाले होला, धेरै साथीहरू पुरस्कार कहिले पाइन्छ भनेर सोध्नुहुन्छ’, मन्डेकाजी भन्छन्, ‘चाँडै पाइन्छ भनेर आश्वासन दिइरहेका छौं।’ राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारी पुरस्कार कहिले पाइन्छ भन्दा पनि टिम गेमका खेलाडीले कति पुरस्कार पाउँछन् भन्ने चासो रहेको बताउँछिन् ।

‘हामीले कति पुरस्कार पाउने भन्ने अन्योल छ’, रेश्मा भन्छिन्, ‘आफ्नै देशमा राम्रो नतिजा ल्याउँदा थप हौसला बढाउनुपर्नेमा हतोत्साहित गर्ने काम भएको छ।’ रेश्मा सरकार आफैंले घोषणा गरेको पुरस्कार पाउन पनि लामो समय कुर्नुपर्दा दुःख लागेको बताउँछिन्। ‘सरकारले दिने पुरस्कारबाट साथीहरूले के–के गर्छु भन्ने सपना देखेका होलान्’, महिला भलिबलमा रजत पदक विजेता टोलीकी सदस्य रेश्मा भन्छिन्, ‘सरकारले उनीहरूको सपनामा पनि तुषारापात गरिदिएको छ।’ रेश्माले सरकारले पहिले सम्मान गरोस् भनेर अरू थुप्रै निकाय र संघसंस्था कुरिरहेको बताइन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट्बाट साभार गरिएको हो ।

प्रतिकृया