अब अनलाइनबाटै वैदेशिक वीमाको भुक्तानी
प्रकाशित मिति
२०७६ पुष १० गते, बिहीबार ०३:१६
काठमाडौं, प्रिमियम अनलाइन प्रणालीबाटै वीमा वैदेशिक रोजगार म्यादी वीमा बजारमा रहेको सबै वीमा कम्पनीबाट भुक्तानी गर्न सकिने वीमा समितिले जनाएको छ । वीमा समितका अध्यक्ष चिरञ्जीवी चापागाईं, कार्यकारी निर्देशक राजरमण पौडेल, वैदेशिक रोजगार विभागका महादिर्नेशक डा.भीष्मकुमार भूसाल सहित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीको अध्यक्ष्यतामा मंगलबार बसेको बैठकले उक्त सहमति कायम गरेको थियो ।
सहमतिपछि श्रम मन्त्रालयले अनलाइन प्रणालीबाट वीमाको प्रिमियम रकम भुक्तानी सहज बनाउन वीमा समितिलाई पत्राचार समेत गरेको छ । विभागका महानिर्देशक डा. भूसालले वीमा कम्पनीहरुले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सौतेलो व्यवहार गरेको भन्दै आलोचना गरेका थिए । मन्त्रालयले वैदेशिक रोजगार म्यादी वीमाको प्रिमियम अनलाइनबाटै भुक्तानी गर्न तथा वीमाको अवधि घटाउन समेत निर्देशन दिएको छ ।
हाल वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि ३ वर्षको लागि वीमा गर्ने गरिएको छ भने २ वर्षको रोजगारीका लागि जानेहरुले ३ वर्षको नै वीमा गर्नुपर्ने वर्तमान व्यवस्थालाई संशोधन गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । सहमति अनुसार करार सम्झौता भन्दा ६ महिना बढीको मात्रै वीमा गर्ने व्यवस्था गर्न समितिलाई मन्त्रालयले भनेको छ । जस अनुसार अब २ वर्ष ६ महिनाको लागि मात्र वीमा हुने छ ।
नवीकरण गर्दा वीमा अवधि नदोहरिने गरी गरिने छ । वीमा समितिले एक वर्षको वीमा दावी रकम हाल लिइरहेको वीमा प्रिमियम वापतको रकम घटाउन समेत वीमा समितिले सहमति जनाएको मन्त्रालयले वीमा समितिलाई लेखेको पत्रमा उल्लेख छ । वैदेशिक रोजगारीका निम्ति जाँदा कामदारले अनिवार्य रूपमा १० लाख रुपैयाँको वीमा गर्नुपर्छ । विदेशमा कामदारको मृत्यु भएमा १० लाखसम्म पाउने व्यवस्था छ ।






प्रतिकृया