जननेता स्व.मदन भण्डारीको सम्झना, एकताको प्रकृयामा नआउने साना कम्युनिष्ट पार्टीहरु समाप्त भएर जाने
प्रकाशित मिति
२०७६ श्रावण १८ गते, शनिबार ०८:२१
भक्तपुर , मदन भण्डारी फाउन्डेसन भक्तपुरले तत्कालीन नेकपा एमालेका महासचिव एवं जननेता स्व.मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा आजको सन्दर्भमा मदन भण्डारीका बिचारहरु बिषयक विचार गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा नेकपाका नेता एबं पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले नेपाली कम्युनिष्ट आन्दोलनका जीवन्त ब्यक्तित्व स्व. जननेता मदन भण्डारी बिबिध प्रतिभाका धनी भएको चर्चा गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले नेपाली कम्युनिष्ट आन्दोलनको विकासमा मदन भण्डारीले दिनुभएको योगदान महत्वपूर्ण भएको बताउनुभयो । भण्डारीकै कारण नेपालको कम्युनिष्ट पार्टी आज सत्तामा पुग्न सकेको भएपनि यतिबेला भण्डारीको विचार अनुसार कम्युनिष्ट पार्टी अगाडि बढ्न नसकेको बताउनुभयो ।
उहाँले यतिबेला पार्टिभित्र आन्तरिक समस्या देखिएको भन्दै त्यसको समाधान गर्न नसके कम्युनिष्ट पार्टी कमजोर हुन बताउनु भयो । उहाँले अहिले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आफ्नो जिम्मेवारीको मात्रै चिन्ता रहेको भन्दै जनताको चिन्ता नगर्ने हो भने त्यसले समस्या निम्त्याउने कुरा बताउनुभयो ।
उहाँले अब हामीले उत्पादन र रोजगारीलाई जोड दिनुपर्नेमा जोड दिंदै सुखी नेपाली समृद्धनेपालको नारालाई ब्यबहारमा उतार्न सक्नुपर्नेमा जोड दिनुभयो ।भण्डारीका सान्दर्भिक बिचारहरुलाई पछ्याउँदै जानुपर्नेमा जोड दिंदै उहाँका असान्दर्भिक बिचारहरु अंगाल्नै पर्छ भन्ने बाध्यता नरहेको उहाँको भनाई थियो ।
नेपालका कम्युनिष्टहरु टुक्रिने पुरानै रोग भए पनि पछिल्लो समय एकता प्रकृयामा रहेको बताउँदै एकताको प्रकृयामा नआउने साना कम्युनिष्ट पार्टीहरु समाप्त भएर जाने दाबी गर्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापतिले नेकपाभित्र बिचारको बहस गर्ने बेला नभेसकेको बताउँदै पहिला पार्टी एकता प्रकृयालाई सम्पुर्ण रुपमा टुंग्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य ,भक्तपुर सह इन्चार्ज एवं चागँुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, प्रदेश सांसद तथा फाउण्डेसनका भक्तपुर अध्यक्ष शशिजंग थापा, प्रदेश सांसद प्रतिमा श्रेष्ठ र सरस्वती बाटी, गरिबी निवारण कोषका उपाध्यक्ष तथा नेकपा प्रदेश कमिटि सदस्य निर्मल कुमार भट्टराई, फाउण्डेसनका ३ नं.प्रदेश अध्यक्ष केशब पाण्डे लगायतले मदन भण्डारीको सरल जीवनशैली र उहाँले कम्युनिष्ट आन्दोलन,पार्टी,साहित्य र समाजमा पुर्याएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।








प्रतिकृया