डेंगुको निःशुल्क परीक्षण
प्रकाशित मिति
२०७६ श्रावण १३ गते, सोमबार ०८:२९
विराटनगर, मोरङको बेलबारी नगरपालिकाले आइतबारबाट डेंगुको निःशुल्क परीक्षण गर्न थालेको छ। नीजी स्वास्थ्य संस्थाले महँगो शुल्क लिएको गुनासो बढेसँगै नगरपालिकाले परीक्षण निःशुल्क गरिदिएको हो। नगरप्रमुख ज्ञानेन्द्र सुवेदीकाअनुसार बेलबारी–१ को बेलबारी, ९ को डाँगीहाट र ७ को बाहुनी स्वास्थ्य चौकीमा आइतबारदेखि डेंगु परीक्षणको कुनै पनि शुल्क लाग्ने छैन। संक्रमण फैलन नदिन गाउँ–गाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले बताए। टोलीले विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै नगरवासीलाई जागरुक गराउने काम पनि गरिरहेको उनको भनाइ छ। नगरपालिकाले डेंगुको लार्भा खोजी तथा नष्ट गर्ने, औषधि छर्कनेदेखि विभिन्न सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरेका नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माले बताउनु भयो ।
नीजी स्वास्थ्य संस्थाले डेंगु परीक्षण गर्दा एक हजार पाँच सय रुपैयाँभन्दा बढी शुल्क लिने गरेको पीडितले गुनासो गरेका छन्। किट महँगो पर्नेभन्दै सरकारी स्वास्थ्य संस्थाले पनि प्रतिसंक्रमित ६ सय रुपैयाँसम्म लिने गरेका छन्। प्रदेश १ का सुनसरी, मोरङ र झापामा डेंगुको संक्रमण दिनप्रति दिन बढ्दो छ। नियन्त्रण र संक्रमितको उपचारमा समस्या भइरहेको छ ।





प्रतिकृया