आज इएनटि क्यान्सर दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
प्रकाशित मिति
२०७६ श्रावण ११ गते, शनिबार ०७:२८
ललितपुर, पछिल्लो समयमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने युवापुस्तामा लहडले गर्दा उनीहरुमा नाक, कान, घाँटी (इएनटि) संग सम्वन्धित क्यान्सर बढीमात्रामा भेटिन थालेको क्यान्सर विशेषज्ञले बताएका छन् । विश्व नाक, कान घाँटी (इएनटि) क्यान्सर दिवसको पुर्वसन्ध्यामा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ इएनटि कन्सल्टयान्ट डा.प्रभात चन्द्र ठाकुरले विगतका वर्षमा ४५ वर्षभन्दा माथिका पुरुषहरुमा मुख र घाँटीको क्यान्सर भेटिने गरेकोमा अहिले त्यो २२ वर्षको उमेरदेखि नै भेटिन थालेको बताएका छन ।
२७ जुलाई अर्थात साउन ११ गते शनिबार विश्वभरी विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ विश्व इएनटि क्यान्सर दिवस मनाइँदै छ । साथीहरुको लहैलहैमा सुर्तीजन्य पदार्थको सेवनका कारण घाँटी र मुखको क्यान्सर हुने युवाहरुको संख्या बढीरहेको बताउँदै डा.ठाकुरले यस्ता पदार्थको सेवनबाट जिव्रो, भित्री गाला र गीजामा समेत क्यान्सर हुने गरेको पाइएको उनले बताएका हुन ।
नेपाल क्यान्सर अस्पतालको स्थापनादेखि वहिरंग र शल्यक्रिया विभागको हालसम्मको तथ्यांक हेर्दा ९० प्रतिशत विरामीमा नाक, कान र घाँटी (इएनटि)संग सम्वन्धित क्यान्सर पाइएको बताउँदै उनले रुद्रघण्टी, र्यालग्रन्थी, थाइराइड र पिनासमा पनि क्यान्सर पाइएको बताएका हुन ।
अस्पतालका मेडिकल डाइरेक्टर विजेशराज घिमीरेले डाक्टरहरुको दक्षता र अस्पतालको सेवाको गुणस्तरका कारण समयमै निदान भएका विरामीको क्यान्सर समयमै निको हुने गरेको बताउँदै उनले जुनसुकै रोगको निदान र उपचारको लागि प्रविधियुक्त सुविधासम्पन्न अस्पतालमा जानुपर्ने सुझाव दिएका हुन ।






प्रतिकृया