पुल भत्किँदा सडक अबरुद्ध
प्रकाशित मिति
२०७६ असार २८ गते, शनिबार ०२:०२
सप्तरी, अविरल वर्षासँगै आएको बाढीले सप्तरीको बोदे बसाइन नगरपालिका–५ स्थित खडकखोलामा नवनिर्मित पुल बगाएपछि पूर्वपश्चिम हुलाकी सडकखण्डअन्तर्गत पूर्णरुपले अबरुद्ध भएको छ । खोलामा आएको बाढीले पुलको पिलर नै भाँसिएपछि पुल बगेको स्थानीयवासीले बताएका छन् । बाढीले बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग पूर्णरुपले अबरुद्ध भएको इलाका प्रहरी कार्यालय बोदे बसाइनका प्रहरी नायब निरीक्षक आमिरी यादवले जानकारी दिनुभयो ।
शुक्रबार राति बाढीले पुल बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग आवागमण पूर्णरूपले ठप्प भएको छ भने यात्रुहरु अलपत्रमा परेका छन् । यस्तै खडक नदीको बाढीले बोदे बसाइन नगरपालिकाको वडा नं ५ जाँजर, वडा नं ७ हैठिस्थित थारु टोल, मुसहर बस्ती डुबानमा परेको छ भने बोका नदीको बाढी गाउँमा पसेपछि बोदे बसाइनका धनगढी, सारस्वर, कुशमहार, काचन, देउरी, खडकपुरलगायतका गाउँ डुबानमा परेको बोदे नगर प्रमुख आतेशसिंह यादवले जानकारी दिनुभयो । यस्तै हुलाकी सडकअन्तर्गत बोदे बसाइन बजार नजिकै सडक भत्किदाँ बजार सम्पर्कविहीन बनेको छ भने विद्युत् सेवासमेत अबरुद्ध भएको छ । रासस





प्रतिकृया