देवता लाग्ने डरले शिक्षिका नै विद्यालय नजाने
प्रकाशित मिति
२०७६ असार ११ गते, बुधबार ०९:१४
बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका–८ रतुडा जनप्रकाश आधारभूत विद्यालयका शिक्षिका महिनावारी भएका वेला विद्यालय नजाने गरेको खुलेको छ । विद्यालयनजिकै रतुडीमाडु देवताको मन्दिर रहेकाले महिनावारी हुँदा देवता लाग्ने डरले शिक्षिकाहरू विद्यालय नआउने गरेको स्थानीय जयबहादुर अयडीले जानकारी दिनुभयो । ‘बुढापाकामा यस्तो अन्धविश्वास अझै कायम छ, युवा पुस्ताले विरोध गर्दै आएका छन् । तर, पनि शिक्षिकाहरू मान्न तयार छैनन्,’ उनले भने ।बडीमालिका नगरपालिका–८ रतुडा विद्यालय ०५१ सालमा स्थापना भएको हो ।
स्थापनाकालदेखि अहिलेसम्म यो प्रथा कायमै छ । शिक्षिका महिनावारी भएको समयमा विद्यार्थीको पढाइमा बाधा हुने गरेको प्रधानाध्यापक प्रकाश अयडी बताउँछन् । कहिलेकाहीं आफू तालिम, गोष्ठी, बैठकमा गएका वेला कार्यरत दुवै शिक्षिका महिनावारी हुँदा स्कुल बन्द हुने गरेको अयडीले बताउनु भयो । यो प्रथा गलत रहेको भन्दै महिनावारी भएका वेला शिक्षिकाहरूलाई विद्यालयले बिदा नदिने निर्णय गरे पनि उनीहरूले नमानेको प्रधानाध्यापक अयडीले जानकारी दिनुभयो ।
नयाँ पत्रिकाबाट साभार





प्रतिकृया