• ४ असोज २०८३, आइतबार
  • ४ः५० बेलुका

चारवटा स्मार्ट सिटी’मध्ये तीनवटाको डीपीआर तयार

प्रकाशित मिति

२०७६ पुष ८ गते, मंगलवार ०६:५३

काठमाडौँ, व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा स्मार्ट सिटी’मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको छ । बाँकी एउटा ‘स्मार्ट सिटी’को डीपीआरको मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा छ ।

National Life

भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’को विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको जानकारी काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले दिए। काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को डीपीआर मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा रहेको छ । डीपीआरको मस्यौदा प्राधिकरणलाई प्राप्त भइसकेको छ ।

“माघ महिनाभित्र ‘काठमाडौँ उत्तर’को पनि डीपीआर तयार भइसक्ने छ,” प्राधिकरण प्रमुख तिवारीले भने, “डीपीआरलाई काठमाडौँ उपत्यका भौतिक विकास समितिले अनुमोदन गरेपछि अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिने छ । मन्त्रिपरिषद्को निर्णयपछि यो आयोजनाबारे राजपत्रमा सूचना प्रकाशित हुन्छ र जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढ्छ ।”
सबभन्दा ठूला स्मार्ट सिटीका लागि ग्लोबल बोलपत्र आह्वान गर्नुपर्छ भने बाँकी तीन सिटीका लागि राष्ट्रिय कम्पनीले निर्माणको जिम्मा पाउने गरी बोलपत्र आह्वान गरिने प्राधिकरणले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भक्तपुरको नगरकोटदेखि मूलपानीसम्म पूर्व–उत्तर काठमाडौँ इशान’ स्मार्ट सिटी निर्माण गर्ने गरिएको बताउँदै प्राधिकरण प्रमुख तिवारीले भन्नुभयो, “त्यसैगरी भक्तपुरकै बालकोटदेखि सूर्यविनायक मन्दिरसम्म पूर्व–दक्षिण काठमाडौँ आग्नेय’, ललितपुरको सिमालखालदेखि खहरे खोलासम्म दक्षिण–पश्चिम काठमाडौँ नैऋत्य’ र काठमाडौँको साँखु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ‘काठमाडौँ उत्तर’ स्मार्ट सिटी निर्माण गरिने प्रस्ताव गरिएको छ ।

‘काठमाडौँ इशान’को डीपीआर निर्माण फिनल्यान्डको हेलेन एन्ड कम्पनी र जेके एसोसिएट्स जेभीले गरेको हो । त्यसैगरी ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ नैऋत्य’को डीपीआर नेपाली कम्पनी ईएमआरसी र फुलब्राइट कन्सल्टेन्सीले गरेको थियो भने ‘काठमाडौँ उत्तर’को डीपीआर नेपाली कम्पनी टेक कन्सल्ट्यान्टले गरिरहेका छन् । ‘काठमाडौँ इशान’को १० करोड र अन्यको दुई÷दुई करोड रुपियाँ लागतमा डीपीआर निर्माण गरिएको हो । डीपीआरअनुसार सबभन्दा ठूलो स्मार्ट सिटी ‘काठमाडौँ इशान’को कुल निर्माण लागत चार खर्ब रुपियाँ हुनेछ भने अन्य तीनवटाको कुल निर्माण लागत ४०÷४० अर्ब रुपियाँ प्रस्ताव गरिएको छ । त्यसैगरी काम सुरु भएको मितिले ठूलो स्मार्ट सिटीको निर्माण अवधि पाँच वर्ष र बाँकीको तीन वर्षको हुनेछ ।
सबभन्दा ठूलो स्मार्ट सिटीका रूपमा प्रस्तावित ‘काठमाडौँ इशान’को क्षेत्रफल एक लाख रोपनीको र बाँकी तीनवटाको क्षेत्रफल दस÷दस हजार रोपनीको हुने छ । यस सिटीभित्र एक लाख रोपनीमध्ये करिब ५४ हजार रोपनीमा मात्र ‘ल्यान्ड पुलिङ’मार्फत जग्गा अधिग्रहण गरी सहरको ‘प्लानिङ’ गरिने छ । अन्य भागमा वनजङ्गल रहेका छन्, विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, पुराना बस्ती बोडे र ठिमी यसै स्मार्ट सिटीअन्तर्गत पर्नेछन् । त्यसैगरी प्रस्तावित स्मार्ट सिटीको कुल क्षेत्रफलको २० प्रतिशतमा सडक पूर्वाधार, १० प्रतिशतमा अन्य पूर्वाधार निर्माण तथा सिटीको कुल क्षेत्रफलको पाँच प्रतिशत खुला ठाउँ रहने प्राधिकरणले जनाएको छ ।

सिंहदरबारभन्दा ठूला ताल बन्ने
प्राधिकरण प्रमुख तिवारीले भने, “सबभन्दा ठूलो स्मार्ट सिटी ‘काठमाडौँ इशान’मा सातवटा पोखरी निर्माण गरिने छ, जसमध्ये दुईवटालाई तालका रूपमा विकास गरिने छ । ती तालको क्षेत्रफल सिंहदरबारभन्दा ठूलो हुनेछ । प्रस्तावित स्मार्ट सिटी क्षेत्रका अहिले भएका पुराना घरहरू, सम्पदाहरू जोगाइने छ भने खाली ठाउँमा मात्र सहरको ‘प्लानिङ’ गरिने छ ।” त्यसैगरी स्मार्ट सिटी क्षेत्रमा कलकारखाना र उद्योग स्थापना गर्न पाइने छैन । निजी घर हटाउनै परेको अवस्थामा उचित क्षतिपूर्ति दिएर मात्र हटाइने उनले स्पष्ट पारे ।

२०७४ साल वैशाख २४ गते बसेको काठमाडौँ उपत्यका विकास प्राधिकरणको बैठकले काठमाडौँ उपत्यकामा चारवटा स्मार्ट सिटी बनाउने निर्णय गरेको थियो ।
गोरखापत्र दैनिकबाट साभार ।

प्रतिकृया