ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले
प्रकाशित मिति
२०८३ आश्विन ८ गते, बिहीबार ०४:०६
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी भएको छ। आगलागीमा परी प्रारम्भिक विवरणअनुसार करिब १० वटा घर जलेका छन्।
आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी तथा फुङलिङ नगरपालिकाका दुईवटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कमल बजगाईँका अनुसार आगो थप फैलिन नदिन सुरक्षाकर्मी, दमकल कर्मचारी र स्थानीयवासीले प्रयास गरिरहेका छन्। उनका अनुसार करिब ९० प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ।
प्रहरीका अनुसार आगलागीको प्रारम्भिक कारण विद्युत् सर्ट हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, आगलागीको वास्तविक कारण भने नियन्त्रणपछि हुने अनुसन्धानबाट खुल्नेछ।
करिब ५० घरधुरी रहेको दोभान बजारमा आगलागीबाट अन्य घरसमेत जोखिममा परेका छन्। आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






प्रतिकृया