भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
प्रकाशित मिति
२०८३ आश्विन ३ गते, शनिबार १२:०७
३ असोज २०८३ काठमाडौं — नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौमा भारत र बंगलादेशतर्फ कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो ।
प्राधिकरणले द्विपक्षीय सम्झौता तथा विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरेको जनाएको छ । द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीमा बिक्री भएको छ ।
त्यस्तै, एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ ।
यसैबीच, भोटेकोशी बाढीबाट चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको छ । अन्य आयोजनाबाट बंगलादेशतर्फ विद्युत् निर्यात पुनः सुरु गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।






प्रतिकृया