बजेट संशोधनको माग गर्दै मधेश प्रदेशसभा बैठक पुनः अवरुद्ध
प्रकाशित मिति
२०८३ असार १८ गते, बिहीबार ०३:५४
१८ असार २०८३ जनकपुरधाम – बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। बैठक सुरु हुनेबित्तिकै जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले एक करोड रुपैयाँका टुक्रे योजनामा आधारित बजेट ल्याएर संघीयताको मर्ममाथि प्रहार गरेको आरोप लगाए। उनले बजेट संशोधन नभएसम्म प्रतिपक्षी दलहरूले सदन सञ्चालन हुन नदिने स्पष्ट पारे।
यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेट संशोधन गर्नुपर्ने वा त्यससम्बन्धी छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै त्यसअघि सदन चल्न नदिने अडान दोहोर्याए। प्रतिपक्षी दलको अवरोधपछि सभामुख रामअशिष यादवले प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन्।

यसअघि बुधबार पनि बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रभावित भएको थियो। त्यसदिन बैठक १० मिनेटका लागि स्थगित गरिए पनि पुनः सञ्चालन हुन सकेको थिएन।





प्रतिकृया