कांग्रेस महाधिवेशनका लागि दुई विकल्प, नियमित वा विशेष महाधिवेशन: विश्वप्रकाश शर्मा
प्रकाशित मिति
२०८२ मंसिर ८ गते, सोमबार ०३:३५
मंसिर ८, २०८२ काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी महाधिवेशनका लागि दुईवटा विकल्प रहेको बताएका छन्। जेनजी प्रदर्शनका क्रममा आगजनी भएको कांग्रेस इलाम पार्टी कार्यालय अवलोकनपछि बोल्दै उनले समय थप जटिल हुँदै गए पनि महाधिवेशन सम्भव रहेको प्रष्ट पारे।
शर्माका अनुसार पहिलो विकल्प नियमित महाधिवेशन नै हो। उनले पुस अन्तिम साताका लागि महाधिवेशन गर्ने गरी निकट बैठकले कार्यतालिका बनाउने सम्भावना रहेको उल्लेख गरे। तयारीका क्रममा केही समय अपुग भए थप १५ दिन लिएर महाधिवेशन सम्पन्न गर्न सकिने उनको भनाइ थियो।
दोस्रो विकल्पको रूपमा उनले २०१४ सालमा सुवर्ण शमशेरले गरेझैँ सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आह्वान गर्ने मार्ग अवलम्बन गर्न सक्ने बताए। उक्त कदमले पार्टीलाई राजनीतिक निकास दिलाउने र सभापतिको नेतृत्व भूमिकालाई थप उचाइ दिने उनको तर्क थियो।
शर्माले १४औँ महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका मागमा गरेको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि बढ्न नसक्ने चेतावनी पनि दिए। उनका अनुसार ८२ मंसिर मसान्तसम्म विशेष महाधिवेशन र ८३ मंसिरमा नियमित महाधिवेशन सम्पन्न गर्ने बाटो पनि खुला रहन सक्छ।






प्रतिकृया