सिमरामा कर्फ्यू उल्लङ्घन गर्दै युवाहरूको प्रदर्शन,अझै तनावग्रस्त
प्रकाशित मिति
२०८२ मंसिर ३ गते, बुधबार ०२:३४
मंसिर ३, २०८२ काठमाडौं— स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश उल्लङ्घन गर्दै युवाहरूले बाराको सिमरा बजार क्षेत्रमा नाराबाजीसहित ठूलो संख्यामा प्रदर्शन गरेका छन्। नेकपा (एमाले) का नेता–कार्यकर्ता र जेनजी समूहबीच उत्पन्न बढ्दो तनावपछि सुरक्षाजन्य जोखिमका कारण जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यू लागू गरेको थियो।
तर कर्फ्यूका बीचै बजार क्षेत्रमा युवाहरूको भीड बढ्दै जाँदा स्थिति थप सङ्कटकालीन बन्न पुगेको छ। सुरक्षाकर्मीहरूले माइकिङ गर्दै भीड पर्खन्न, घर फर्कन र कर्फ्यू आदेश पालना गर्न आग्रह गरिरहनुपरेको छ।
गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर, सिमरा विमानस्थल परिसरको वरिपरि ५०० मिटर यस क्षेत्रभित्र भेला, जुलुस, सभा, प्रदर्शन, घेराउलगायतका कार्यक्रम कडाइका साथ निषेध गरिएको प्रशासनले जनाएको छ।
बुधबार बिहान सिमरा बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी अगुवा सम्राट उपाध्यायमाथि हातपात गरेको घटनापछि तनाव तातिएको हो। उपाध्यायले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत् एमालेको परवानीपुरमा आयोजना हुने मधेश प्रदेशस्तरीय युवा भेलाको शान्तिपूर्ण विरोध कार्यक्रम घोषणा गरेका थिए।
सोही विरोधका कारण बिहानैदेखि दुवै पक्ष आमनेसामने आएपछि झडप सुरु भयो र परिस्थिती विमानस्थलसम्म फैलिएपछि स्थिति नियन्त्रणबाहिर जाने अवस्था बनेको प्रशासनले जनाएको छ।
एमाले उपाध्यक्ष शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायतका नेताहरूलाई स्वागत गर्न एमाले कार्यकर्ता विमानस्थल पुगेका बेला जेनजी समूह पनि त्यहीँ पुगेको थियो।
युवाहरूले विमानस्थलको मुख्य गेट ढालिदिएपछि र लगातार ढुंगा–बोतल प्रहार गर्दै नाराबाजी गरेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो। त्यस क्रममा प्रहरी र जेनजी युवाबीच तीव्र झडप भएको हो।






प्रतिकृया