जेनजी आन्दोलनले उठाएको सुशासनको मुद्दा गम्भीर छ: ऊर्जा मन्त्री घिसिङ
प्रकाशित मिति
२०८२ आश्विन १० गते, शुक्रबार ०६:२८
असोज १०, २०८२ काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। उनले जेनजीको मूल माग भ्रष्टाचार निर्मूल र सुशासन कायम गर्नु रहेको उल्लेख गर्दै, देशमा व्याप्त बेथितिहरूको अन्त्य गरेर समृद्धितर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, “जेनजी आन्दोलनले जनताको भावना उजागर गरेको छ। यस्ता मागहरूलाई व्यवहारमा उतार्न सरकार र संस्थाहरूले संकल्प गर्नु आवश्यक छ।”
मन्त्री घिसिङले प्रष्ट पारे, “यदि अब पनि भ्रष्टाचार र अनियमितता भइरहे, त्यो पुनः अर्को ठूलो विद्रोहको कारण बन्न सक्छ। त्यसले कसैलाई पनि नछोड्ने सम्भावना हुन्छ।” उनले कुनै पनि तहमा भ्रष्टाचारको गन्ध मात्र आए पनि तत्काल कारबाही गर्ने चेतावनी दिए। नेपाल विद्युत प्राधिकरणभित्र सुशासन लागू गर्न निर्देशन दिँदै उनले भने, “कुनै किसिमको अनियमितता भयो भने क्षम्य हुने छैन।”
कार्यक्रममा मन्त्री घिसिङले युवापुस्ताको देशभित्रै बसेर काम गर्ने आकांक्षालाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताए। “युवाहरू स्वदेशमै अवसर चाहन्छन्, त्यसअनुसार नीति बनाउनु हाम्रो कर्तव्य हो,” उनले भने।
उनले सुशासनलाई व्यवहारमा लागू गर्नु नै अबको आवश्यकता भएको स्पष्ट गर्दै, जनताको सेवामा कुनै पनि किसिमको कमी नआउन दिनु नहुने उल्लेख गरे।






प्रतिकृया