माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न,के आयो निष्कर्ष ?
प्रकाशित मिति
२०८२ आश्विन १० गते, शुक्रबार ०६:२१
असोज १०, २०८२ काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। बिहीबार सुरु भएको बैठक शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिमार्जित राजनीतिक प्रतिवेदन पारित गर्दै समापन भएको हो।
बैठकले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने अध्यक्ष प्रचण्डको प्रस्तावलाई स्वीकृति दिएको छ। साथै, आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय पनि बैठकले अनुमोदन गरेको माओवादी नेता रहिश साहले जानकारी दिए।
बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनपछि मात्र महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेका थिए। साथै, अध्यक्ष प्रचण्डले नेतृत्वबाट अलग हुने र कार्यवाहक अध्यक्ष आफूले पाउने प्रस्ताव राखेका थिए, जुन अस्वीकृत भएको छ।
त्यस्तै, उपमहासचिव जनार्दन शर्माले हालका सबै पदाधिकारीहरू निर्देशक समितिमा रूपान्तरित हुने गरी नयाँ कार्यसमिति निर्माण गर्ने प्रस्ताव अघि सारेका थिए, तर उक्त प्रस्ताव पनि अस्वीकृत गरिएको छ।
बैठकको एक महत्वपूर्ण पक्ष भनेको पार्टी नेताहरूको सम्पत्ति छानबिन र सार्वजनिक गर्ने विषयमा भएको निर्णय हो। सुदूरपश्चिम प्रदेश प्रतिनिधि समूहका तर्फबाट हरि ज्ञवाली अखण्डले प्रस्तुत गरेको निष्कर्षमा भनिएको छ:
“पार्टीका सबै नेताहरूको एकाघरको सम्पत्ति तथा पार्टीको सम्पत्तिको छानबिन गर्न पूर्व महालेखा परीक्षक वा स्वतन्त्र व्यक्तिहरूको सहभागितामा कार्यविधि बनाएर आयोग गठन गरियोस्।”
यसै सन्दर्भमा प्रचण्डले नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। उनले भने, “सम्पत्ति छानबिन आयोग गठन गर्नेछौं र सबै नेताको सम्पत्ति सार्वजनिक गरिनेछ।” प्रचण्डले बैठकमा उठेका विषयहरूलाई गम्भीरतापूर्वक लिएर पार्टी अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्।






प्रतिकृया