• ५ साउन २०८३, मंगलबार
  • ५:२४ बेलुका

सेवाले नागरिक खोज्ने समय आएको छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०८२ भाद्र २२ गते, आईतवार ०९:१६

भदौ २२,२०८२ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूले प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा सुधार गर्नुपर्ने बताएका छन् । निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सामान्य कामका लागि पनि अनावश्यक प्रक्रिया देखाउने संस्कारलाई अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रधानमन्त्री ओलीले भनेका छन्, “सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक छ । नागरिक सेवा खोज्दै होइन, सेवाले नागरिक खोज्ने बेला आएको छ । टेबल र कुर्सीबाट मात्र होइन, प्रविधिबाट सेवा विस्तार गर्नुपर्ने बेला आएको छ ।”

Kamana Sewa

उनले बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षाअनुसार निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता स्पष्ट पारे । निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुने उल्लेख गर्दै ओलीले पछिल्लो दिनमा सेवाका आदर्श, मूल्य मान्यता, आचरण, जिम्मेवारी र जवाफदेहिताबाट विचलन देखिएकाले जनविश्वास घटेको गुनासो सुन्निएको बताए ।

Classic Tech Desktop

नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा झन्झट र दुःख दिने कार्य सरकारलाई सह्य नहुने चेतावनी दिँदै उनले सरकारको उच्च प्राथमिकतामा रहेको निजामती विधेयक संसदबाट पारित हुने प्रक्रियामा रहेको पनि जानकारी दिए । “यस कानूनले कर्मचारी वर्गको उन्नयनमा मात्र होइन, संघीयताको डेलिभरीमा नयाँ उचाइ दिनेछ,” उनले भने ।

प्रधानमन्त्रीले सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवाप्रतिको समर्पणमार्फत मात्रै राज्यले नागरिकको विश्वास जित्न सक्ने उल्लेख गर्दै डिजिटल रुपान्तरण, ई–गभर्नेन्स, तथ्यांकमा आधारित नीति निर्माण र सहज अनलाइन सेवा प्रवाहमार्फत नागरिकलाई छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउनु निजामती सेवाको प्रमुख दायित्व भएको स्मरण गराए ।

प्रतिकृया