रौतहटको सुटकेस काण्ड : हत्या आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा फेला
प्रकाशित मिति
२०८२ भाद्र ११ गते, बुधबार ०९:२३
भदौ ११,२०८२ काठमाडौं – रौतहटमा बन्द सुटकेसभित्र मृत फेला परेकी रुबि साहको हत्या आरोपमा लक्षित व्यक्ति लक्ष्मण पासवान जलेको अवस्थामा फेला परेका छन्।
पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा गम्भीर रूपमा जलेको अवस्थामा भेटिएका हुन्। स्थानीयले खबर गरेपछि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर तत्काल उपचारका लागि अस्पताल पुर्याएको छ।

प्रहरीका अनुसार पासवान रुबि साहको हत्यामा संलग्न रहेको आशंकामा पहिल्यैबाट निगरानीमा थिए। हाल उनी अस्पतालमा उपचाररत छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसअघि, गत शनिबार डेरा बसेर गौर बजार जाने भन्दै निस्केकी २५ वर्षीय रुबि साह सुटकेसभित्र मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धान अनुसार, हत्या गरेर शव सुटकेसभित्र राखी फालिएको थियो।




प्रतिकृया