आजबाट हिमालयन बैंकको एफपीओ बन्द हुँदै
प्रकाशित मिति
२०८२ श्रावण ४ गते, आईतवार १०:१५
श्रावण ४ ,२०८२ काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको एफपीओ (फर्टर पब्लिक अफर) आज बैंकिङ समयपछि बन्द हुँदैछ। एफपीओ निष्कासनका लागि बैंकले असार २२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
बैंकले प्रतिकित्ता १५७ रुपैयाँको दरमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ शेयर निष्कासन गरेको हो। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यस एफपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले बैंकलाई ‘CARE NP BBB (Is)’ रेटिङ दिएको छ, जसले बैंकको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
हिमालयन बैंकले संस्थापक र सर्वसाधारण शेयर संरचना ७०:३० कायम गर्नका लागि एफपीओ निष्कासन गरेको हो। एफपीओपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता शेयर रहनेछ।
लगानीकर्ताहरूले सिटिजन्स क्यापिटल लिमिटेड (डिल्लीबजार), हिमालयन बैंक (कमलादी), धितोपत्र बोर्ड, साथै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाहरू र ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
बैंकका अनुसार एफपीओबाट संकलन हुने पूँजीमध्ये ८० प्रतिशत लगानीमा प्रयोग गरिनेछ भने बाँकी २० प्रतिशत सेवा विस्तार र स्तरोन्नतिमा खर्च गरिनेछ।






प्रतिकृया