• १० असोज २०८३, शनिबार
  • ९ः२८ बिहान

लयमा फर्कन सकेन घोडेपानीको पर्यटन व्यवसाय

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ०३:१९

कात्तिक १६, २०८० म्याग्दी : केही वर्षअघिसम्म असोज–कात्तिक र चैत–वैशाखको याममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको होटल व्यवसायी जुली ठकुुरी पुनलाई खाना खाजा खाने फुर्सद हुने थिएन् । पर्यटकको ‘पिक सिजन’ असोज–कात्तिकको याममा पछिल्लो पाँच वर्षयता उहाँलाई पहिलेको जस्तो भ्यानभ्याइ छैन् । घोडेपानीकै होटल व्यवसायी सपना गुरुङ पनि जुली जस्तै फुर्सदिलो हुनुहुन्छ । कोरोना भाइरसको महामारी फैलिएपछि सुस्ताएको घोडेपानीको पर्यटन आगमन र होटल व्यवसाय अझै लयमा फर्कनसकेको छैन् ।

National Life

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको विभिन्न गन्तव्यमा जाने नाकामा रहेको घोडेपानी नेपालकै प्रसिद्ध पर्यटकीयस्थल हो । कोरोनाले थला परेको पर्यटक आगमन पुरानोलयमा फर्कन नसक्दा होटल व्यवसाय प्रभावित बनेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताउनुभयो । “पहिला याममा सबै होटल पाहुनाले भरिभराउ हुन्थे । अहिले दुई चार वटामा मात्र पाहुना छन् । त्यही पनि नियमित छैन,” उहाँले भन्नुभयो “कोरोना महामारीको समयको तुलनामा अहिलेको पर्यटक आगमन राम्रो त हो तर कोरोना शुरु हुनु अघिको जस्तो छैन् ।”


घोडेपानी आसपासको उल्लेरी, तिखेढुङ्गा, चित्रे, शिख क्षेत्रका होटल व्यवसायीको अवस्था झन नाजुक छ । घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने क्षमताका साना ठूला गरी ३० होटल छन् । दसँै–तिहारको याममा घोडेपानीमा स्वदेशी पर्यटकको चाप पनि उत्तिकै हुने गरेको थियो । घोडेपानीको होटल व्यवसायी ज्ञानबहादुर पुनले कोरोना महामारीपछि विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दिको असर पर्यटक आगमन र होटल व्यवसायमा परेको बताउनुभयो । “कोरोनाले सबैको आम्दानीमा असर गरेको छ । आम्दानी कम हुँदा घुमघाम गर्न निस्कने घटेका हुन,” उहाँले भन्नुभयो “आएकाले पनि खर्च र भ्रमण गर्ने समय छोट्याएका छन् ।”

Classic Tech Mobile
Classic Tech Desktop

विसं २०८० सुरु भएयता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रमा पन्ध्र हजार जना विदेशी पर्यटकले भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पर्यटक प्रहरी हबल्दार रामबहादुर खत्रीका अनुसार विसं २०७९ मा २६ हजार तीन सय ११ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका थिए । कोरोना अघि वार्षिक ६० देखि ७० हजार पर्यटक आउने गरेका थिए । समुद्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् ।


पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विषेशता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ ।


अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारीसाधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक एका बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । विदेशी पर्यटक आगमन कम भएकाले नेपाली पर्यटकलाई आकर्षित गराउन छुटको कार्यक्रम ल्याएका छन् । घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्रको अन्तिम चरणमा रहेकाले सडक मार्गबाट आउने स्वदेशी पर्यटक बढ्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

प्रतिकृया