दम्भ त्यागेर विकासमा जुट्न जनप्रतिनिधिलाई सांसद बस्नेतको आग्रह
प्रकाशित मिति
२०७६ श्रावण २८ गते, मंगलवार ०८:३२
भक्तपुर, प्रतिनिधीसभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दम्भ त्यागेर विकासमा एक जुट हुन आग्रह गर्नु भएको छ । जिल्ला समन्वय समिति भक्तपुरले आज आयोजना गरेको दुईदिने जिल्लास्थित सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरुको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । संविधानले व्यबस्था गरेको नीतिलाई मान्दिन भन्ने र जिल्ला समन्वय समितिलाई स्वीकार्दिन भन्दै विकासमा समन्वय नगर्ने जनप्रतिनिधीले दम्भ त्याग्नु पर्ने उहाँले भनाई राख्नुभयो ।
समिक्षामा आम्दामी खर्चको विवरण मात्रै पेश गर्ने भन्दा पनि कहाँ, कहाँ कस्ता योजना सञ्चालन भए ? समय मै्र कति योजना सम्पन्न भए, कति गुणस्तरीय काम भयो ?, कस्ता चुनौती र समस्या आए, आगामी दिनमा कसरी जाने भन्नेबारेमा छलफल भई निस्कर्ष निकाल्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले स्थानीय विकास आफ्नै लागि भएकाले विकासमा साझेदारी समन्वय र सिर्जनशील भएर लाग्नु आग्रह गर्नुभयो । संविधानले स्थानीय तहमै कानुन बनाउनेसम्मको अधिकार दिएको भन्दै सांसद बस्नेतले स्थानीय आवश्यकता र सम्भावनालाई हेरेर जनप्रतिनिधिले काम गर्नुपर्ने औल्याउनुभयो । वार्षिक समीक्षा गोष्ठीलाई कर्मकाण्डीको संज्ञा दिदै उहाँले आम्दानी र खर्चको विवरण सुन्ने र सुनाउने कार्यमा मात्रै सिमित गर्न नहुने भनाई राख्नुभयो ।








प्रतिकृया