राष्ट्रपति पौडेलद्वारा निजी क्षेत्रलाई राष्ट्र निर्माणको प्रमुख साझेदारका रूपमा जोड
प्रकाशित मिति
२०८२ चैत्र २७ गते, शुक्रबार ११:५२
२७ चैत,२०८२ काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा मात्र नभई राष्ट्र निर्माणको अभिन्न साझेदार र आर्थिक इन्जिनका रूपमा हेर्नुपर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले निजी क्षेत्र बलियो भए मात्र देशको समग्र अर्थतन्त्र सबल हुने स्पष्ट पारे।
राष्ट्रपति पौडेलले कोभिड महामारी, आपूर्ति शृङ्खलामा आएको अवरोध, उत्पादन तथा व्यापारमा आएको गिरावट र आर्थिक व्यवस्थापनमा देखिएका कमजोरीले अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गरे। यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा उनले जोड दिए।

उनले नीति निर्माण र आर्थिक चुनौती समाधानमा नेपाल चेम्बर अफ कमर्सले खेलेको भूमिकाको प्रशंसा गर्दै व्यावहारिक सुझावहरूको महत्त्व औँल्याए। देशको भविष्य युवा पुस्तामा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न स्वदेशमै पर्याप्त अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए। उनले उद्यमशीलता, प्रविधि र नवप्रवर्तनमार्फत युवालाई आर्थिक गतिविधिमा जोड्नुपर्ने बताए।

डिजिटल अर्थतन्त्र, हरित विकास, स्टार्टअप संस्कृति र प्रविधिमा आधारित उद्यमशीलताको विकासमा विशेष जोड दिँदै उनले प्रतिस्पर्धी युगमा नवीन सोच आवश्यक रहेको बताए।
उनले राजनीतिक स्थिरतालाई आर्थिक समृद्धिको आधारका रूपमा उल्लेख गर्दै स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जना सम्भव हुने धारणा राखे। राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै स्थिर, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।




प्रतिकृया