प्रहरी दिवसमा गृहमन्त्रीको अभिव्यक्ति : आन्दोलनले आन्तरिक सुरक्षामा गम्भीर असर
प्रकाशित मिति
२०८२ आश्विन ३१ गते, शुक्रबार ११:४६
असोज ३१,२०८२ काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको उग्र प्रदर्शनमा उछृङ्खल समूहहरूको कारणले राज्य सम्पत्तिमा क्षति पुगेको बताएका छन्। ७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आन्दोलनका क्रममा सुरक्षाकर्मीको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै घटनाले नेपाल प्रहरीलाई मात्र नभई आम नागरिक जीवनलाई समेत असर पारेको उल्लेख गरे।
“अभाव र यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र होइन, नागरिक जीवनलाई समेत प्रभाव पारेको छ,” मन्त्री अर्यालले भने, “सीमित स्रोत र साधनमा काम गर्दै आएको प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्याएको छ।”
उनले अभाव, दबाब र जटिल परिस्थितिमा समेत प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रहरीको योगदानलाई सम्मान गर्नुपर्ने धारणा राखे।
साथै, उनले आन्तरिक सुरक्षा सुदृढ बिना मुलुकको समृद्धि र सुशासन सम्भव नहुने भन्दै, प्रविधिको विकाससँगै बढ्दो नयाँ प्रकृतिका अपराधले अनुसन्धान कार्य चुनौतीपूर्ण बन्दै गएको बताए।
“प्रविधिमा देखिएको द्रुत विकास र यसको प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन्, जसले अपराध अनुसन्धान थप कठिन बनाएका छन्,” गृहमन्त्री अर्यालले भने। मन्त्रालय प्रहरी संगठनलाई आवश्यक स्रोत र प्रविधिमा सशक्त बनाउने दिशामा कार्यरत रहेको पनि उनले जानकारी गराए।






प्रतिकृया