• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

नेप्से सूचीकृत ११ कम्पनीले लाभांश घोषणा

प्रकाशित मिति

२०८२ आश्विन ४ गते, शनिबार १०:४४

असोज ४, २०८२ काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ वटा कम्पनीहरुले हालसम्म गत आर्थिक वर्ष (२०७९/८०) को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गर्ने क्रममा केही कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् भने केहीले बुक क्लोज र सभा मिति तोकेका छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण पुँजी बजारको गतिविधि करिब एक हप्ता पछाडि धकेलिएको छ। यसको असर लाभांश वितरण र साधारण सभा प्रक्रियामा समेत देखिएको छ।

Kamana Sewa

अहिलेसम्म लाभांश घोषणा गर्ने कम्पनीहरूमध्ये उत्पादनमूलक क्षेत्रको कम्पनी नेपाल ल्यूव आयल लिमिटेडले सबैभन्दा बढी, कुल २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साथै, कम्पनीको १ बराबर २ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सेबोनमा पेन्डिङ रहेको छ।

Classic Tech Desktop

बैंकिङ समूहमा एभरेष्ट बैंकले १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस, गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। माछापुच्छ्रे बैंकले भने ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस, गरी ८ प्रतिशत लाभांश घोषणा गर्दै असोज १० गते साधारण सभा गर्नेछ। यसअघि बैंकले भदौ २७ गते बुक क्लोज गरिसकेको छ।

विकास बैंकहरूमा मुक्तिनाथ विकास बैंकले १३.५३ प्रतिशत बोनस र ४.६७ प्रतिशत नगद, गरी १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ। कामना सेवा विकास बैंकले १० प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद, गरी १५.७९ प्रतिशत लाभांश दिनेछ। कामना सेवाले असोज ८ गते बुक क्लोज र असोज २४ गते साधारण सभा गर्नेछ।

हाइड्रोपावर कम्पनीहरूले प्रमुख रूपमा बोनस सेयरमै लाभांश दिएका छन्। सिक्लेस र मिडसोलु हाइड्रोपावरले समान रूपमा १५ प्रतिशत बोनस र ०.७८९ प्रतिशत नगद, गरी १५.७८९ प्रतिशत लाभांश घोषणा गरेका छन्। अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत नगद, गरी ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद, गरी ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले असोज ८ गते बुक क्लोज र असोज २३ गते साधारण सभा गर्नेछ।

इन्भेष्टमेन्ट समूह अन्तर्गतको हाथवे इन्भेष्टमेन्ट नेपालले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद, गरी १२.६३ प्रतिशत लाभांश पारित गरिसकेको छ। कम्पनीले भदौ ३१ गते साधारण सभा सम्पन्न गरिसकेको छ। यस्तै, नेपालको एक मात्र पूर्वाधार विकास बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। अघिल्लो वर्ष लाभांश नदिएको बैंकले यसपटक लगानीकर्तालाई केही राहत दिएको छ।

प्रतिकृया