काठमाडौं–पोखरामा माघभित्र फाइभजी परीक्षण सुरु : मन्त्री गुरुङ
प्रकाशित मिति
२०८२ भाद्र १५ गते, आईतवार ०५:४५
भदौ १५,२०८२ काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा बोल्दै उनले फ्रेमवर्क चाँडै मन्त्रिपरिषद् पारित भई कार्यान्वयनमा जाने जानकारी दिए।
उनका अनुसार पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापनसहित आठ क्षेत्रमा प्रविधिको विस्तार गर्न सरकारले तयारी गरिरहेको छ। उनले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क आवश्यक भएको बताउँदै “माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखरामा फाइभजी परीक्षण सुरु हुन्छ” भने।
मन्त्री गुरुङले आगामी वर्षभित्रै फाइभजी विस्तार सम्पन्न गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै सातै प्रदेशमा आईटी डाटा सेन्टर र एआई केन्द्र स्थापना गर्न सरकार लागिपरेको बताए। यस अवसरमा उनले बढ्दो बैंकिङ ठगी नियन्त्रणका लागि आवश्यक कानुन निर्माण प्रक्रिया अघि बढाइरहेको जानकारी पनि दिए।






प्रतिकृया