गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् नखुल्ने माओवादी केन्द्रको अडान
प्रकाशित मिति
२०८२ जेष्ठ १९ गते, सोमबार ०९:२७
काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक खुल्न नसक्ने अडान प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दोहोर्याएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सिंहदरबारमा बसेको तीन ठूला दलका शीर्ष नेताहरूको बैठकमा माओवादी केन्द्रले पुरानै अडान दोहोर्याएको हो। बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भने, “हामीले सुशासनलाई केन्द्रमा राखेर कुरा गरेका हौं। गृहमन्त्रीको राजीनामा हाम्रो प्राथमिक माग हो, जुन पहिले जस्तै अहिले पनि यथावत छ।”
सत्तारूढ दल र प्रधानमन्त्री ओली संसद् खोल्ने पक्षमा देखिए पनि माओवादी केन्द्रले भने गृहमन्त्रीको भूमिकाबारे गम्भीर प्रश्न उठाउँदै राजीनामालाई अनिवार्य सर्तको रूपमा राखेको छ। “गृहमन्त्री रमेश लेखकले संसद् खोल्नुपर्ने भनाइ राख्नुभयो, तर हामीले भने भिजिट भिसा प्रकरणमा भएको गम्भीर गडबडीको छानबिनको बाटो खुलाउन उहाँले राजीनामा दिनैपर्ने माग गर्यौँ,” पाण्डेले स्पष्ट पारे।
उनले संसद्मा औपचारिक रूपमा उठाइएको विषयवस्तु नै भिजिट भिसा प्रकरण भएकाले त्यसमा भएको अनियमितताको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए। “सत्ता पक्षबाट कर्मचारीले गर्यो भन्ने कुरा उठाइएको छ। तर जिम्मेवारीमुक्त हुन गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो धारणा हो,” उनले भने।
माओवादी केन्द्रको यो अडानका कारण संसद् बैठक अनिश्चितकालका लागि अवरुद्ध हुन सक्ने देखिएको छ।






प्रतिकृया