• ५ असोज २०८३, सोमबार
  • ७ः५० बिहान

‘दुःखी आत्मा’ मा राखियो श्रवण मुकारुङका १० कविता

प्रकाशित मिति

२०८१ मंसिर २५ गते, मंगलवार ०१:१८

मंसिर २५, २०८१ काठमाडौँ: नेपाली साहित्यमा अग्लो नाम बनाएका कवि श्रवण मुकारुङका कविता एकपटक फेरि फिल्ममा सुन्न पाइने भएको छ ।

National Life

आगामी फागुन २ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुःखी आत्मा’मा उनले लेखेका १० वटा कविता समावेश गरिएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए । यसअघि फिल्म ‘डिग्री माइला’मा पनि मुकारुङका केही कविता प्रयोग गरिएको थियो ।

निर्देशक लामाले कवि मुकारुङका कवितालाई फिल्मको पटकथा र सिचुएशनअनुसार मिलाएर राखिएको बताए । मुकारुङका कविताहरुले फिल्मको पात्र र परिवेशलाई न्याय मिलेको उनको भनाई छ । उनका अनुसार मुकारुङका अधिकांश कविता फिल्मका प्रमुख अभिनेता दयाहाङ राईमाथि फिचरिङ गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उनी भन्छन्, ‘फिल्मको मुख्य पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरुको स्वभावबीच एकरुपता पाइएपछि हामीले उहाँलाई कविता रच्न लगाएका थियौं । उहाँका कविताले फिल्मको कलात्मक उचाइँ र कथाको आयामलाई बढाउने काम गरेको छ । पात्रको भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिएका हौं ।’

कवि मुकारुङले ‘दुःखी आत्मा’मा कविका रुपमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरे । ‘फिल्मका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,’ उनी भन्छन्, ‘म आफ्ना कवितालाई फरक प्लेटफर्ममा हेर्न एकदमै आतुर छु ।’ उनले लेखेका ‘राई माइला’, ‘जुन जस्तो मुहार’, ‘माथि माथि सैलुङ्गेमा’, ‘तिमी तारेभीर’ जस्ता गीतहरु लोकप्रिय छन् ।

निर्देशक लामा स्वयंको लेखन रहेको ‘दुःखी आत्मा’मा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई लगायतको अभिनय छ । आलोक शुक्लाको छायांकन रहेको फिल्मका निर्माता हिमाल कडरिया तथा कार्यकारी निर्माता सुदिप ढकाल हुन् । यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

प्रतिकृया