• ७ जेष्ठ २०८१, सोमबार
  • 4:53 pm

नेपाली कांग्रेसद्धारा पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व मन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त

प्रकाशित मिति

२७ बैशाख २०८१, बिहीबार १५:४८

वैशाख २७, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्थानीय विकास पूर्व मन्त्री सूर्यमान गुरुङको बैशाख २५ गते बिहान १०ः३० बजे काठमाडौं ज्ञानेश्वर स्थित हिमाल अस्पतालमा उपचारका क्रममा भएको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको एक प्रस विज्ञप्ति मार्फत जनाएको छ । वि.सं. २०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई नेपाली कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय गुरुङलाई वि.सं. २०१७ मा प्रजातन्त्र अपदस्थ पछि तत्कालीन व्यवस्थाले पक्राउ वारेण्ट जारी गरेको थियो । तत्पश्चात उहाँ भारतको दार्जलिङ निर्वासित भई सशस्त्र संगठनमा सक्रिय रहनु भएको थियो । वि.सं. २०१८ फागुन २२ गते च्याङथापुमा श्रीजंग गुल्ममा आक्रमण गरी कब्जा गर्दाको समयमा र वि.सं. २०१८ चैत्र १७ गते ताप्लेजुङ अदालत, प्रहरी कार्यालय र जेल कब्जा गरी कैदीहरुलाई मुक्त गरेको अभियोगमा उहाँलाई ट्रिबुनलले जन्म कैदको फैसला गरेको थियो । लोकतन्त्र स्थापनाका लागि गरिएका संघर्षका क्रममा स्वर्गीय गुरुङले पटक—पटक जेल जीवन, भारत निर्वासन, नजरबन्द, सम्पत्ति रोक्का जस्ता विविध व्यवधानहरु बेहोर्नु भएको थियो ।

नेपाली कांग्रेस ताप्लेजुङको पटक–पटक जिल्ला सभापति, नेपाल आदिवासी जनजाति संघका पूर्व केन्द्रीय सभापति, नेपाल किसान संघका पूर्व केन्द्रीय महासचिव, नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको पूर्व सदस्य जस्ता विभिन्न पदीय जिम्मेवारीमा रहेर उहाँले कुशलतापूर्वक कार्य गर्नु भएको थियो ।

वि.सं. १९९८ बैशाख १० गते पिता भगीमान गुरुङ र माता मनमाया गुरुङको सुपुत्रका रुपमा जन्मनु भएका स्वर्गीय गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ ।

नेता सूर्यमान गुरुङको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

स्वर्गीय गुरुङप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ—
(क) २०८१ बैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने ।
(ख) २०८१ बैशाख २८ गते शुक्रबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने ।
(ग) स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने ।
(घ) स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने ।

प्रतिकृया