• ७ जेष्ठ २०८१, सोमबार
  • 5:42 pm

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्तो छ एजेन्डा

प्रकाशित मिति

२७ बैशाख २०८१, बिहीबार १०:४३

वैशाख २७, २०८१ काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्ने भएकाे छ। बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ।

बैठकमा शुक्रबारबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीले संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुनेछ। साथै पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा पनि छलफल हुने बताइएकाे छ।

कांग्रेसले यसअघिको हिउँदे अधिवेशनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा रकम हिनमिना गरेको आरोप लागेको भन्दै संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गर्दै संसद अवरोध गरेको थियो।

कांग्रेसले सभामुख देवराज घिमिरेले आह्वान गरेकाे शीर्ष नेताहरूको बैठकमा पनि अहिले पनि संसदीय छानबिन समिति बनाएर गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने माग यथावत नै राखेको छ।

यता सत्तापक्षले भने समिति बनाउनु आवश्यक नरहेकाे बताउँदै आएकाे छ। यही विषयमा छलफल गर्न सभामुख घिमिरेले बैठक आह्वान गरेका थिए। उक्त बैठक बिना निष्कर्स टुंगिएकाे थियाे।

प्रतिकृया