• ४ असोज २०८३, आइतबार
  • ६ः२२ बिहान

प्राचीन तपोभूमिमा नाथ योगीको राष्ट्रिय सम्मेलन

प्रकाशित मिति

२०८० भाद्र २६ गते, मंगलवार ०४:२७

भदौ २६, २०८० गण्डकी : प्राचीन तपोभूमिका रुपमा प्रतिष्ठित पोखरा महानगरपालिका-३१ स्थित शिवगोरक्षनाथपीठ सिद्धाश्रममा नाथ योगीको तीन दिने राष्ट्रिय परिषद्को सम्मेलन सुरु भएको छ । सोमबारदेखि सुरु राष्ट्रिय सम्मेलनमा देशका विभिन्न स्थानबाट आएका एक सय ८३ जना नाथ योगीको सहभागिता छ । समाजमा कानचिरा जोगीका रुपमा विशिष्ट पहिचान बनाएका नाथ सम्प्रदायका योगीको राष्ट्रिय परिषद्ले नाथ योगीहरूद्वारा सञ्चालित पीठ, तिनको भौतिक अवस्था, समिति तथा गुरुहरूको सम्बन्धका साथै यस सम्प्रदाय संरक्षणको उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम नवलपुरका पीठाधीश आचार्य योगी खेचरनाथले जानकारी दिए ।

National Life

नेपालभर एक हजारभन्दा बढी सङ्ख्यामा नाथयोगी रहेको जानकारी दिँदै उनले नेपाल र नेपाली समाजको एकीकरणमा नाथ योगीको भूमिका महत्वपूर्ण रहेको बताए । गाउँ बस्तीमा शङ्ख फुक्दै हिँड्ने क्रममा त्यहाँको अवस्था, आम सर्वसाधारणको बुझाइआदिबारे जानकारी ल्याउने काम गरी नाथ योगीले नेपालको एकीकरणमा विशिष्ट भूमिका खेलेको उनले जानकारी दिए । नेपालमा नाथ सम्प्रदायलाई सङ्गठित गर्न योगी नरहरी नाथले विशिष्ट योगदान गरेको बताउँदै योगी खेचरनाथले राणा प्रधानमन्त्री मोहन शमशेरले उनलाई मृगस्थलीको पीठाधीश घोषणा गरी रथारोहण गराएको उल्लेख गरे ।


तत्कालीन समयमा राज संस्थाले पनि यस सम्प्रदायलाई उच्च महत्त्व दिएको बताउँदै उनले प्रत्येक सवारी अघि नाथको स्वीकृति लिनुपर्ने प्रावधान थियो । उनका अनुसार भारतको गोरखपुरमा रहेको गोरखनाथ धाममा प्रत्येक वर्षको माघ १ गते गोरखास्थित गोरखनाथ गुफाबाट लगिएको खिचडिमा प्रयोग हुने दाल र चामल चढाएपछि मात्रै अन्य पूजा सुरु हुने प्रचलन अहिले पनि कायमै छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सम्मेलनको स्थानीय व्यवस्थापन शिवगोरक्षनाथपीठ सिद्धाश्रमले गरेको सो संस्थाका संरक्षक राममणि अधिकारीले जानकारी दिए । शिवगोरक्षनाथपीठ सिद्धाश्रम यस क्षेत्रको प्राचीन तपोभूमिका रुपमा प्रसिद्ध रहेको उनले बताए । विसं २०१० सालतिर अभदुत देवनाथ योगी(नागा बाबा)ले यही क्षेत्रमा बसी साधना गरेको जानकारी दिँदै अधिकारीले यो क्षेत्रमा पाण्डव दाजुभाइले वनबासका क्रममा केही समय विताएको किंबदन्ती रहेको बताए । ऐतिहासिकस्थलमा भएको यस सम्मेलनले यहाँको गरिमा र महत्त्व अझै बढाएको उनको भनाइ छ ।


संस्कृतिविद् डा जगमान गुरुङले पञ्च पाण्डव घुम्दै केही समय यही आएर बसेका कारण यसस्थलको नाम पछि पचभैया भएको बताए । नाथ सम्प्रदायको आफ्नै विशिष्ट महत्त्व रहेको र उच्च मनोबलका साथ यस परम्पराको अनुसरण गर्न उनले नाथ योगीहरूलाई आग्रह गरे । विश्व हिन्दू महासङ्घका अध्यक्ष अस्मिता भण्डारीले नाथ राष्ट्रिय परिषद्को सम्मेलनले नाथ सम्प्रदायको मौलिक संस्कार र संस्कृतिलाई जीवन्त राख्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

प्रतिकृया