
राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने, बिहीवार बोलकबोल
प्रकाशित मिति
२०८० श्रावण १७ गते, बुधबार ०३:१२

१७ श्रावण २०८०, काठमाडौँ: नेपाल राष्ट्र बैंकले रू. १० अर्ब बराबरको विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको छ । राष्ट्र बैंकले आगामी शुक्रवार (साउन १९ गते) ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । यो ऋणपत्र भोलि (बिहीबार) बोलकबोलमार्फत विक्री गरिनेछ । यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् ।
यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८६ साउन १९ गते परिपक्व हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ ।
बोलकबोलमा इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रूपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरू लाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु. ८.५ अर्ब र रु. १.५ अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई विक्री गरिनेछ ।
अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा ऋणपत्रको रकम बाँडफाँट गरिने बैंकले जनाएको छ ।
प्रतिकृया