विश्वकै होची महिलाको रुपमा चर्चामा आएकी एलिफाको निधन
प्रकाशित मिति
२०७८ पुष १९ गते, सोमबार ०२:५०
१९ पुस २०७८, काठमाडौंं : सन् २०१० मा विश्वकै होची महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने एलिफा कोकामनको निधन भएको छ । एलिफाको ३३ वर्षको उमेरमा निधन भएको हो । टर्कीको दक्षिणपूर्वी ओस्मानिए प्रान्तस्थित अस्पतालमा दुई दिनसम्म निमोनिया सँग जुधेपछि उनको निधन भएको हो ।
एलिफा उस्मानिया टर्कीको कादिरली शहरमा बस्थिन् । उनी ७२.२ सेन्टिमिटर अर्थात् दुई फुट पाँच इन्चकी थिइन् । उनको उचाइकै कारण उनको नाम विश्व रेकर्डमा दर्ता हुन सकेको हो । उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएपछि उनले भनेकी थिइन्, ‘संसारले एकदिन मलाई पक्कै पनि चिन्नेछ भन्ने कुरामा म सधैँ आशावादी थिएँ ।’
संसारकै होची एलिफाले एकपटक संसारकै अग्ला व्यक्तिसँग भेट्न इच्छा व्यक्त गरेकी थिइन् । उनको यो सपना पनि निकै छिटो पूरा भयो । गिनिज बुक अफ वर्ल्ड रेकर्डको एउटा कार्यक्रममा एलिफाले संसारका सबैभन्दा अग्ला व्यक्ति सुल्ताना कोसेनलाई भेट्ने मौका पाइन् । उनको उचाइ २४६.५ सेमी छ । एलिफाले आफ्नो उचाइका कारण कहिल्यै पनि लज्जित महसुस नगरेको बताउँथिन् । उनलाई आफूमा गर्व थियो । एकपटक उनले भनेकी थिइन्, ‘मलाई भगवानले बनाएका हुन् । म जस्तो छु यसमा मलाई गर्व छ ।’
एलिफाकी आमा हटनले उनीबारे जानकारी दिँदै भनेकी थिइन्, ‘एलिफा एक वर्षको हुञ्जेलसम्म सबैकुरा सामान्य थियो । त्यसपछि समस्या बढ्न थाल्यो किनभने एलिफा अन्य बच्चासरह बढिरहेकी थिइनन् । ’ चार वर्षको उमेरसम्म उनको उचाइ बढ्न लगभग रोकिइसकेको थियो ।
थुप्रै डाक्टरमार्फत् उपचार गराए पनि उनको स्थितिमा सुधार भएन । एलिफापछि सन् २०११ मा यो उपाधि अमेरिकाका ब्रिजेट जोर्डनले आफ्नो नाममा पारे । जोर्डको उचाई ६९ सेन्टिमिटर थियो । उनको सन् २०१९ जस्नमा नै मृत्यु भयो । (Agency)






प्रतिकृया