कार्यव्यवस्था बैठकमा जुटेन सहमति, सदन चल्न नदिने एमालेको अडान
प्रकाशित मिति
२०७८ पुष ६ गते, मंगलवार ०१:०७
६ पुस २०७८, काठमाडौँ : संसद बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति हुन सकेन । बैठकमार्फत सर्वसम्मतिमा कार्यसूची तय गर्ने सभामुख अग्नि सापकोटाको प्रयास असफल भएको छ । सभामुख सापकोटाले डाकेको बैठकमा एमाले सहभागी भए पनि सदन चल्न नदिने अडान फेरि पनि दोहोर्याएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा एमालेले एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नभएसम्म बैठक अवरुद्ध कायमै राख्ने जानकारी गराएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा एमालेका तर्फबाट भट्टराईसँगै कृष्णभक्त पोखरेल र लालबहादुर थापा सहभागी थिए ।
प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ । एमाले बैठक अवरूद्ध कायमै राखे पनि आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गर्ने कार्यसूची छ ।
यौनहिंसाविरुद्धका केहि ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई स्वीकृतिको लागि पेस गर्न लागिएको हो । बैठक १ बजे डाकिएको छ ।






प्रतिकृया