सहुलियत कर्जा अधिकांश कृषिमा,तीन महिनामा नै पुग्याे ७.८७%
प्रकाशित मिति
२०७८ मंसिर २३ गते, बिहीबार ०३:५७
२२ मंसिर २०७८, काठमाडौं : सहुलियत कर्जा पनि अधिकांश कृषि क्षेत्रमै गएको छ । साथै, असारसम्म १३ प्रतिशत पुर्याउनु पर्ने कृषि कर्जा तीन महिना नै ७.८७ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकको प्रावधान अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुल कर्जाको १३ प्रतिशत कर्जा लगानी गर्नुपर्छ तर केन्द्रीय बैंकको तथ्यांक अनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ७.८७ प्रतिशत मात्रै कृषि क्षेत्रमा कर्जा लगानी गरेका छन्।
सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा मात्रै ३ खर्ब ५३ अर्ब ६६ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। असोज मसान्तसम्म बैंकहरुको ऋण पोर्टफोलियो ४४ खर्ब ९२ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ रहेको छ। बैंक तथा वित्तीय संस्थाले कृषिमा प्रदान गरेको कर्जा कुल कर्जामा गणना ७.८७ प्रतिशत हुन आउँछ।
बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कृषि क्षेत्रमा मात्रै २९ अर्ब ४६ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९.१ प्रतिशतले बढी हो।
नेपाल राष्ट्र बैंकले कृषि, ऊर्जा, घरेलु तथा साना उद्योग र विपन्न वर्ग क्षेत्रमा अनिवार्य कर्जा प्रवाह गर्नु पर्ने बाध्यात्मक अवस्थाको सिर्जना गरेको छ। केन्द्रीय बैंकको निर्देशन अनुसार २०७८ असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जामा कृषि क्षेत्रको ऋण ११ प्रतिशत र २०७९ असारमसान्तसम्म यो बढेर १३ प्रतिशत पुर्याउनुपर्छ। २०८० असार मसान्तसम्म यो ऋण १५ प्रतिशत पुर्याउनुपर्ने बाध्यता बैंकहरुलाई छ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्म कृषि तथा कृषि सेवा अन्तर्गत ७७ अर्ब ६५ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् भने चिया उत्पादनको लागि ४ अर्ब ७४ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी भएको छ। त्यस्तै, पशुपालन र त्यससँग सम्बन्धित सेवाको लागि १ खर्ब ३० अर्ब ७० करोड १७ लाख रुपैयाँ ऋण लगानी भएको छ।

वन, माछापालन र वधशाला क्षेत्र अन्तर्गत ३ अर्ब ७ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी भएको छ भने अन्य कृषि क्षेत्र र सेवा अन्तर्गत १ खर्ब ३१ अर्ब ४३ करोड ८ लाख रुपैयाँ कर्जा लगानी भएको छ।
राष्ट्र बैंकले औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसुची ४ मा उल्लेखित क्षेत्रलाई कृषि क्षेत्र मान्ने भनेको छ। कृषि क्षेत्र अन्तर्गत फलफुल खेती तथा प्रशोधन, खाद्यवस्तु उत्पादन, प्रशोधन र भण्डारण, पशुपालन, पंक्षीपालन मासु उत्पादन र प्रशोधन, दुध र दुग्धजन्य प्रशोधन उद्योग, मन्त्स्य पालन, पशुपंक्षीको दान उत्पादन, चियान बगान एवम् प्रशोधन, तरकारी, जडिबुटी, हरित गृह स्थापन तथा सञ्चालन, पुष्प खेती, नर्सरी व्यवसाय, रबर खेती, सःमिल फर्निचर लगायतका काष्ठ उद्योग लगायतलाई राखिएको छ। त्यस्तै, कुनै बैंकले कृषि ऋणपत्र जारी गरेमा उक्त ऋणपत्र जारी गरेको रकम समेत कृषि कर्जामा गणना गर्न पाइने केन्द्रीय बैंकले उल्लेख गरेको छ।
नेपाल बैकर्स संघका उपाध्यक्ष एवम् एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार कृषि कर्जामा राष्ट्र बैंकले सीमा तोके बमोजिम नै कर्जा जान सक्ने अवस्था रहेको बताए। नेपाल राष्ट्र बैंकले विभिन्न क्षेत्र तोकेर सहुलियत कर्जा समेत दिने गरेको छ। सहुलियत कर्जा पनि अधिकांश कृषि क्षेत्रमै गएको बैंकरहरुले बताए। उनीहरुका अनुसार कृषि क्षेत्र भित्र विभिन्न प्रशोधन क्षेत्रसमेत पर्ने हुनाले यस क्षेत्र तर्फ कृषि कर्जा धेरै गएको हो।






प्रतिकृया