११ महिनामा कति भयो अन्तर–बैंक कारोबार ?
प्रकाशित मिति
२०७८ असार ३१ गते, बिहीबार १२:३७
३१ असार, काठमाडौँ : आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा वाणिज्य बैंकहरुको रु १४२९ अर्ब १६ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु १८५ अर्ब १६ करोड गरी कुल रु १६१४ अर्ब ३२ करोडको अन्तर–बैंक कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु १४६९ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरुको रु १२१ अर्ब ४२ करोड गरी कुल रु १५९१ अर्ब २३ करोड अन्तर बैंक कारोबार भएको थियो । यसैगरी बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ जेठमा २.८० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको जेठमा ३.२१ प्रतिशत रहेको छ ।
मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७८ जेठमा ३.२४ प्रतिशत रहेको पनि राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ जेठमा ८.६६ प्रतिशत रहेकोमा २०७८ जेठमा ६.६६ प्रतिशत कायम भएको छ ।
यस्तै २०७८ जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ६.१७ प्रतिशत र १०.४३ प्रतिशत रहेका थिए ।






प्रतिकृया