सामाजिक सुरक्षा कोषले एक वर्षको ८ प्रतिशत प्रतिफल बितरण गर्दै
प्रकाशित मिति
२०७८ असार १४ गते, सोमबार ०७:१५
काठमाडौँ : सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिकलाई योगदानको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । कोषले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७६र७७ को वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीवाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार ६ सय ९८ रुपैयाबाट प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
८ प्रतिशत प्रतिफल रकम कोषले सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा जम्मा गर्ने कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले पत्रकार सम्मेलनमा जानकारी गराका हुन् । उनका अनुसार नेपाल सरकारले बजेट वक्तव्यमार्फत योगदानकर्ताको २०७८ जेठ र असार महिनाको योगदान जम्मा गरि दिने निर्णय पनि कार्यान्वयनको चरणमा पुगेको छ ।
कोषले सञ्चालनमा ल्याएका समाजिक सुरक्षा योजनाको सफल कार्यन्वयनमा सबै सरोकारवालाको सहयोग र सहकार्यको अपेक्षासहित यथासक्य छिटो कोषमा आवद्ध भइ कोषले प्रदान गर्ने सुविधा उपयोग गर्न कोषका प्रवक्ता समेत रहेका उप कार्यकारी निर्देशक विवेक पन्थीले बताए । उनका अनुसार अहिलेसम्म कोषमा जम्मा १४ हजा ५ सय ८० रोजगारदाता २ लाख ५१ हजार २ सय ९२ योगदानकर्ता आवद्ध भइसकेका छन् । अहिलेसम्म ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन समेत भइसकेको पन्थीले बताए ।
कोषले सञ्चालन गर्ने औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार, आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार र बुद्भावस्था सुरक्षा योजनामा ८ सय ७४ योगदानकर्तालाई ६ करोड ९७ लाख गरी ११ करोड ६२ लाख रकम कोषबाट भुक्तानी भइसकेको छ ।
२०७७ माघ २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन भए पश्चात यस कार्यक्रमप्रति रोजगारदाता तथा श्रमिकमा थप उत्सुकता पैदा भएको कोषले महसुश गरेको कोषका सहायक प्रवक्ता रोहित रेग्मीले बताए । कार्यविधिको दोस्रो संशोधनपछि मात्रै कोषमा १ हजार ३ सय २८ रोजगारदाता, ६४ हजार ९ सय ५६ योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख भन्दा बढी रकम संकलन भइसकेको छ । यस बिचमा कोषमा निरन्तर रुपमा योगदानकर्ता तथा रोजगारदाताको संख्यामा बृद्धि भै रहेको रेग्मीले बताए ।
सामाजिक सुरक्षा कोषले सञ्चालन गरिरहेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनका लागि २०७५ कार्तिक २६ गते राजपत्रमा सुचना प्रकाशित गरि २०७६ श्रावण १ बाट निरन्तर योगदान रकम संकलन भइरहेको छ।






प्रतिकृया