अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणाली मार्फत भेटी दान गर्न सकिने
प्रकाशित मिति
२०७७ फाल्गुन १४ गते, शुक्रबार ०४:०४
काठमाडौं – बैंक अफ काठमाण्डूको सहकार्यमा पशुपतिमा डिजिटल दान पेटीका राखिएको छ । अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने बैंकले जनाएको छ ।
यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’ बाट बैंकमा रहेको पशुपति क्षेत्र विकास कोषका खातामा दान गर्न सकिने छ ।यस प्रणालीबाट भेटी दान दिँदा दुरुपयोग हुने सम्भावना नहुने जनाइएको छ ।
यसबाट पशुपतिनाथका नाममा प्राप्त हुने दान, दक्षिणा पनि पारदर्शी हुने विश्वास गरिएको छ । कोष र बैंक अफ काठमाडौँ लिमिटेडको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रका चार स्थानमा ‘क्यूआर कोड’ मार्फत अनलाइनबाट भेटी दान गर्न सकिने प्रणाली स्थापना गर्ने सम्बन्धी आज सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कार्यको शुभारम्भ गर्दै देशभर यो प्रणालीको विकास गरिनुपर्ने बताए । देशभर यो चेतना बढाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
प्रतिकृया