• 5:37 pm

गुप्तचरका कारण नेकपाको राजनीतिमा तरंग

प्रकाशित मिति

October 28, 2020

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनलेसिस विङ (रअ) का प्रमुख सामन्त गोयलसँग बालुवाटारमा भेटेपछि यसले नेपाल कम्युनिस्ट पार्टीको राजनीतिभित्र तरंग ल्याइदिएको छ । नेकपाका पहिलो पुस्ताका नेताहरु यो घटनाबारे मौन छन् । तर, ओलीविरोधी समूहका दोस्रो पुस्ताका केही नेताहरुले यसको आलोचना गरेका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री ओलीले गोयलसँग भेटेको घटनाको आलोचना गरेका छन् । यसलाई कूटनीतिक मर्यादा उल्लंघन भएको टिप्प्णी गरेका छन् । पूर्व उपप्रधानमन्त्री भीम रावलले पनि यसको चर्को आलोचना गरेका छन् । पम्फा भुषाल पनि यसको विरोधमा बोल्नेमा पर्छिन् ।

प्रकाश प्रचण्ड निकट हुन् भने रावल माधवकुमार नेपालसँग नजिक छन् । तर, प्रचण्ड र माधव नेपाल दुवैले यसबारे बोलेका छैनन् । उनीहरुसँग नजिक दोस्रो पुस्ताका नेताले यसको विरोध गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भेटको भोलिपल्टै यसबारे खुलाइसकेका छन् । उनले यसलाई शिष्टाचार भेट भने । तर, भारतका गुप्तचर प्रमुखलाई बालुवाटारमा भेटेको विषयले नेकपाको राजनीतिमा तरंग आएको छ ।

ओली केही समययता भारतको चर्को विरोधमा प्रस्तुत हुँदै आएकोमा एकाएक गोयलसँग बालुवाटारमा भेट भयो । यसलाई उनले भारतसँग सम्बन्ध सुधार्न खोजेको रुपमा पनि हेरिए्रको छ । ओलीले चाहेरै गोयल विशेष विमानमा काठमाडौ उत्रिएका थिए । उनले एक रात बसाईंमा महत्वपूर्ण भेटवार्ताहरु गरेको बताइन्छ ।

भारतका स्थल सेनापति एम एस नरवाणे १९ कात्तिकमा नेपाल भ्रमणमा आउने तय हुँदा गोयल काठमाडौं आएर फर्किए । यसबीच ओलीले रक्षामन्त्री आफैसँग राखे । अब नरवाणेसँग प्रधानमन्त्री र रक्षामन्त्री दुवैका रुपमा ओलीले सुरक्षा सम्बन्धी कुराकानी गर्नेछन् । यसमा पनि ओलीको रणनीति देखिन्छ ।

प्रधामन्त्री केपी शर्मा ओलीले पछिल्लो एक महिना नयाँ कदमहरु चाल्दै आएका छन् । जसमध्ये अमेरिका र बेलायतको राजदूत नियुक्तिको सिफारिश, मन्त्रिमण्डल पुर्नगठन र गुप्तचर भेट पनि पर्छन् । यी तीनवटै विषयमा ओलीप्रति नेकपाभित्र असन्तुष्टि बढेको छ । नेकपाको अबको राजनीतिमा यसले मुद्दाको रुप लिनेछ । विशेषगरी गोयलको भेट बहाना बन्न सक्छ । यसले नेकपाको आन्तरिक राजनीतिमा तरंग ल्याइसकेको छ । यसलाई ओलीले कसरी ध्यान मोड्ने हुन् हेर्न बाँकी छ ।

प्रतिकृया