• ६ असोज २०८३, मंगलबार
  • १२ः१५ राती

निकुञ्‍जका सैनिकले कुटपिट गरेका युवाको मृत्यु

प्रकाशित मिति

२०७७ श्रावण ९ गते, शुक्रबार ०८:१५

चितवन। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् ।

National Life

राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको हो । ‘छुटेर आएदेखि नै सन्चो भएन भन्न थाल्यो, मैले गाउँकै मेडिकलहरूमा उपचार गराइरहेको थिएँ,’ विष्णुलालले भने, ‘हिजो बुधबार त अति नै आत्तियो, त्यसपछि भरतपुर अस्पताल ल्याएको थिएँ ।’ अस्पतालमै छोराको मृत्यु भएपछि विष्णुलाल अहिले विक्षिप्तजस्तै भएका छन् ।

राजकुमारसँगै गिरफ्तार भएका उनका एक साथी सन्तलाल प्रजाले आफूहरूलाई नियन्त्रणमा लिएपछि सेनाले कुटपिट गरेको बताए । सेनाले नियन्त्रणमा लिएकामा दुई जना महिला पनि थिए । उनका अनुसार महिलालाई केही नगरे पनि पुरुषहरूलाई कुट्ने, मुढा ओसार्न लगाउने र सय–सय पटक पुसअप गराउने सजाय सेनाले दिएको थियो । ती युवा गाउँ नजिकैको राप्ती नदी तरेर चितवन राष्ट्रिय निकुञ्जमा पुगेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

निकुञ्जभित्रको ज्युँडी खोलामा घोंगी बटुल्दै गर्दा सैनिकले उनीहरूलाई समातेको थियो । सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको स्वीकारे पनि कुटपिट नगरेको दाबी गरेको छ । ‘निकुञ्जकै एरियामा आएपछि समाएर निकुञ्ज प्रशासनलाई जिम्मा लगाएको हो, कुटपिट भएकै छैन,’ निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको बटुक दल गणका प्रमुख अरुण श्रेष्ठले भने, ‘उहाँहरूले यतिका दिनपछि किन यस्तो आरोप लगाउनुभएको हो, थाहा भएन ’ । यो समाचार आजको कान्तिपुरले प्रकाशन गरेको छ ।

प्रतिकृया