• ६ असोज २०८३, मंगलबार
  • १२ः१५ राती

पर्सामा सशुल्क पीसीआर परीक्षण हुन थालेपछि कोरोना संक्रमितको संख्या बढे

प्रकाशित मिति

२०७७ श्रावण ९ गते, शुक्रबार ०५:५०

 

National Life

वीरगन्ज । सशुल्क पीसीआर परीक्षण गर्न थालिएसँगै पर्सा जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। पर्सामा बुधबार राति मात्रै एक बृद्ध मृतकसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यकर्मी, अस्पतालमा उपचाररत बिरामी, सवारी चालक, भन्सारका कर्मचारीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पुष्टि गरे।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरुको साउन ६ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको बस्नेतले जानकारी दिए। बुधबार राति संक्रमण पुष्टि भएका १७ जनामध्ये वीरगन्ज ६ माइस्थानका ७० वर्षीय वृद्धको मङगलबार अपरान्ह नै मृत्यु भइसकेको छ। अन्य १६ जनामध्ये पर्साको वीरगन्ज २५ सिर्सियाका ३ जना, वीरगन्ज १० का १ जना, वीरगन्ज १२ का १ जना, वीरगन्ज ११ का १ जना, वीरगन्ज ४ का १ जना , वीरगन्ज ७ का १ जना , झौवागठीका १ जना , पटेर्वासुगौली ५ देउरीयाका १ जना , सुखुवाप्रसौनी ५ श्रीपुर पन्चगावाका १ जना , नारायणी अस्पतालका २ जना चिकित्सक र अस्पतालकै क्वार्टरमा बस्ने २ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। सिर्सियाका ३ जनामध्ये २ जना सुख्खा बन्दरगाह भन्सार कार्यालयका कर्मचारी र १ जना ट्रक चालक हुन्।

योसँगै पर्सा जिल्लामा संक्रमितको संख्या २ सय २ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले जानकारी दिए। यसअघि बुधबार दिउँसो मात्रै पर्साका ६ जनामा संक्रमण फेला परेको थियो। पर्सामा सशुल्क परीक्षण सुरु भएसँगै संक्रमितको संख्या बढ्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। उनले भने ,‘आफैंले पैसा तिरेर कोरोनाको परीक्षण शुरू नगरेको बेलासम्म पर्सामा संक्रमितहरु निको हुँदै २ जना मात्र बाँकी थिए, तर सशुल्क परीक्षण शुरु गरिएपछि विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि कोरोनाको संक्रमित थपिन थालेको छ।

साउन पहिलो साता यता संक्रमण पुष्टि भएकामध्ये अधिकांश यात्रा इतिहास ट्राभल (हिस्ट्रि) नभएका र कतिपय लक्षणसहितका संक्रमितसमेत देखिएकोले निकै गम्भीर बन्नुपर्ने अवस्था सृजना भएको उनले बताए। यस्तो विषम परिस्थितिमा विद्यमान रहेकै अवस्थामा लकडाउनको अन्त्यसँगै सबैतिर भीडभाड हुनुले ठूलो खतरा निम्त्याइरहेको पनि उनले बताए। अहिले लक्षणसहितको संक्रमण देखा परिरहेकोले निकै चिन्ताको विषय रहेको भन्दै उनले भने ,‘जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बसेर आवश्यक कदम चाल्न निर्णय गर्नुपर्ने आवश्यकता देखिएको छ, त्यसको लागि बैठक बस्ने तयारी भइरहेको छ । यो समाचार आजको अन्नपुर्ण पोष्ट्मा क्रान्ति शाहले लेखेका छन् ।

प्रतिकृया