पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए
प्रकाशित मिति
२०७७ श्रावण ६ गते, मंगलवार ०२:०१
काठमाडौं । लगातारको वर्षाले नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् ।
नारायणी नदीको सतह खतरामाथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको भारतको बिहारस्थित सम्पर्क तथा भूआर्जन कार्यालय वाल्मीकि नगरका सम्पर्क अधिकारी तारासिंह थापाले बताए । अहिले पनि नवलपरासीसहित ५ नम्बर प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।
गण्डक ब्यारेजले ७ लाख क्यूसेक पानीको बहाव धान्ने क्षमता राख्थ्यो । पुरानो भएकाले अहिले त्यसको क्षमता ४ लाख क्युसेक हाराहारीमा रहेको छ । पानीको बहाव ३ लाख क्युसेक नाघेपछि खतरा मानिन्छ ।
सोमवार साँझसम्म गण्डकमा पानीको बहाव २ लाख ७० हजार क्यूसेक रहेको सम्पर्क अधिकारी सिंहले बताए । ‘रातिसम्म ३ लाख क्युसेक नाघ्ने सम्भावना छ, त्यसैले सम्भावित क्षति हुनबाट जोगाउन सबै ढोका खोलेको सिंहले जानकारी दिए ।
यसैबीच नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । प्रभावित क्षेत्रमा सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका ३० बढी गाउँ पर्छन् ।
सो क्षेत्रहरूमा विपद् आइलागेमा तत्काल उद्धारमा खटाउनका लागि सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखिएको प्रजिअ पाठकले बताए ।






प्रतिकृया