• ४ असोज २०८३, आइतबार
  • ४ः४८ बिहान

मोरङमा पोशाकमै टिकटक बनाउने प्रहरीलाई कारबाही

प्रकाशित मिति

२०७७ श्रावण १ गते, बिहीबार ०५:१८

 

National Life

विराटनगर । मोरङमा पोशाकमै टिकटक बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको खुलेपछि दुई प्रहरीमाथि कारबाही सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी हवल्दार रेनुका सोनाम र जवान अशोक राई अनुसन्धानको दायरामा तानिएका छन् ।

प्रहरीको पोशाकमा रहेका दुवै जनाले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमा भाइरल बनेपछि यस विषयलाई चासोपूर्वक लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। टिकटक बनाउने क्रममा उनीहरुले आफ्नो अगाडि टेबुलमा प्रहरीका दुईवटा सञ्चार सेट (वाकिटाकि) पनि राखेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यस घटनलाई लिएर प्राप्त भएको फोटोले पनि हवल्दार सोनाम र जवान राई दुई जना मिलेर टिकटक बनाएको पुष्टि गर्छ। डीएसपी राईले प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका विपरित कार्य गरेकाले दुवै जनामाथि छानबिन थालिएको जानकारी दिए।

‘अनुसन्धानकै क्रममा भएकाले उनीहरुले कुन गीत वा डाइलगमा भिडियो बनाए भन्ने कुरा तत्कालका लागि गोप्य राखिएको छ,’ उनले भने, ‘विभागीय नीति र आचरण विपरित गतिविधि गरेको पाइएपछि कारबाही थालिएको हो।’ डीएसपी राईले दुई जना मिलेर बनाएको टिकटक फेसबुकमा उनीहरुले नै पोस्ट गरेको वा अरुले गरिदिएको हो भन्ने बारेमा पनि छानबिन गरेर कारबाही अघि बढाइने जानकारी दिए।

निर्देशिकाअनुसार प्रहरीमा कार्यरत रहेकाले पोशाक लगाएर व्यक्तिगत रुपमा कुनै पनि गतिविधि गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्न नमिल्ने उनको भनाइ छ। ‘प्रहरीको बद्नाम गराउने यस्ता गतिविधि संगठनको आचरणविपरित हुने उनले बताए । जसले सिंगो संगठनको शाख गिराउँछ।’ राईका अनुसार संगठनको कुनै पनि चिन्ह वा पोशाकको प्रयोग गर्दै व्यक्तिगत रुपमा गरिएका गतिविधि सामाजिक सञ्जालमा आफू स्वयंले प्रकाशन वा प्रशारण गर्न मिल्दैन।

प्रतिकृया